कोभिडविरुद्धको खोप पुग्यो

रासस

सोमबार, १२ माघ २०७७, १९ : २३
कोभिडविरुद्धको खोप पुग्यो

काठमाडौँ । कोभिड–१९ विरुद्धको खोप  यहाँ आइपुगेको छ । भारत सरकारले सहयोगस्वरुप नेपाल सरकारलाई केही दिनपहिले कोरोना भाइरसको १० लाख मात्रा खोप  उपलब्ध गराएको थियो ।

भारत सरकारले उपलब्ध गराएको खोप सरकारले जिल्लाजिल्लामा पठाउन शुरु गरेको छ । सरकारले जिल्लाका लागि पठाएको १७१ भायल एक हजार ७१० मात्रा कोरोना भाइरसविरुद्धको खोप आज प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्मालाई हस्तान्तरण गर्नुभयो । 

सरकारले जिल्लाका लागि पठाएको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिने कर्मचारीलाई लगाउने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख  शर्माले बताउनुभयो ।

बलेवा : गण्डकी स्वास्थ्य निर्देशनालयले प्रदेशका सबै जिल्लामा कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ पठाएको छ । निर्देशनालयले दिएको जानकारीअनुसार बागलुङ, कास्की स्याङ्जा, पर्वत, म्याग्दीलगायत जिल्लामा आज नै खोप पुगेको छ । प्रजिअलाई बुझाइएको खोप स्वास्थ्य कार्यालयले सुरक्षित गरेका छन् । 

प्रदेश सरकारले बागलुङका लागि पठाएको एक हजार ९९६ मात्रा कोरोना भाइरसविरुद्धको खोप आज सहायक प्रजिअ उपेन्द्रराज पौडेलले स्वास्थ्य कार्यालय बागलुङलाई हस्तान्तरण गर्नुभयोे । प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले खोप सुरक्षितरुपमा ल्याएको थियो । 

जुम्ला : कर्णाली प्रदेशका लागि कोरोनाविरुद्धको ११ हजार ७८० मात्रा खोप आइपुगेको छ । मागका आधारमा सो मात्रा प्रदेशमा आइपुगेको हो ।

खोप कार्यान्वयनमा सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्यसम्बद्ध निकायबीचको समन्वयमा खोप पठाइएको हो । अहिले खोप कर्णाली प्रदेशको नेपालगञ्जमा रहेको मेडिकल स्टोरमा राखिएको छ । 

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा निर्देशनालयका चिकित्सक रबिन खड्काका अनुसार प्रदेशका खोप आइपुगेको छ । “मङ्गलबारदेखि कर्णालीका १० जिल्लामा पठाइने तयारी गरिएको छ”, उहाँले भन्नुभयो । जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईका अनुसार जिल्लामा तीन हजार मात्रा खोप मङ्गलबार आइपुग्ने छ । आइपुगेको एक÷दुई दिनमा खोप लगाउने तयारी गरिएको उहाँले बताउनुभयो ।