भिमनगरमा लघु उद्योग ग्रामको शिलान्यास

सफल खबर संवाददाता

आइतबार, ११ माघ २०७७, १७ : ३७
भिमनगरमा लघु उद्योग ग्रामको शिलान्यास

file photo

चितवन । भरतपुर महानगरपालिका २० भिमनगरमा आइतबार एक समारोहबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले साना तथा लघु उद्योग ग्रामको शिलान्यास गरेकी छिन् ।   

लघु तथा साना उद्योग ग्रामको शिलान्यास गर्दै महानगरपालिका प्रमुख दाहालले निर्माणाधिन लघु उद्योग निर्माणले यस क्षेत्रका साना मझ्यौला उद्योगहरूलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न सहयोगी हुने बताइन्।

भरतपुर महानगरपालिकाले उद्योग क्षेत्रको विकास र विस्तारका लागि निजी क्षेत्रसँगको सहकार्यमा विभिन्न कार्यहरू गरिरहेको बताउँदै मेयर दाहालले सङ्घीय सरकारको सहयोगमा उद्योग ग्राम निर्माणको काम भैरहेको जानकारी दिइन् ।

उद्योग क्षेत्रको विकासमार्फत उत्पादकत्त्व वृद्धि र रोजगार सृजना गर्दै समृद्धिको यात्रा अगाडी बढाउनुपर्नेमा जोड दिदै प्रमुख रेनु दाहालले उद्योग ग्राम निर्माणको कामलाई गुणस्तरीय ढङ्गले अगाडी बढाई समयमै सम्पन्न गर्न सम्बन्धित कार्यालय र निर्माण व्यवसायीलाई आग्रह गरिन् ।

भिमनगरमा रहेको ४ बिगाहा १० कठ्ठा जमिनमा १९ करोडको लागतमा निर्माण हुने लघु उद्योग ग्राम बहुवर्षे ठेक्का अन्तर्गत यसै आर्थीक वर्षमा १ करोड २५ लाखको लागतमा जग्गा संरक्षण र कम्पाउण्डवाल निर्माण हुने घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यादवनाथ आचार्यले जानकारी दिए । 

२ वर्षमा निर्माण सम्पन्न गरी उद्योग ग्राम सञ्चालनमा ल्याइने लक्ष्य लिइएको उद्योग ग्राममा साना, मझ्यौला तथा लघु उद्योग रहने छन् । उद्योग ग्रामभित्र बाटो, विजुली, पानीका साथै अन्य आवश्यक भवन संरचनाहरू बन्ने प्रमुख आचार्यले बताए । 

उद्योग ग्राम सञ्चालनसँगै यस क्षेत्रमा छरिएर रहेका साना तथा मझ्यौला उद्योगहरूलाई व्यवस्थित गरी सञ्चालनमा ल्याउने उद्देश्यले यो योजना अगाडी बढाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस