कोरोनाविरुद्धको खोप आज सातवटा प्रदेशमा पु-याइने

सफल खबर संवाददाता

आइतबार, ११ माघ २०७७, ०९ : २५
कोरोनाविरुद्धको खोप आज सातवटा प्रदेशमा पु-याइने

काठमाडौं । नेपाल सरकारले कोभिड–१९ विरुद्धको खोप आज सातवटै प्रदेशमा पु-याइँदै छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आज सातवटै प्रदेशका भण्डारण केन्द्रमा पु-याउन लागिएको हो । 

सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० अस्पतालबाट खोप लगाइनेछ । काठमाडौं उपत्यकामा १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ ।
पहिलो चरणको खोप फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहन चालक, शव व्यवस्थापनमा खटिएकाहरुलाई खोप लगाइनेछ । आगामी बुधबारदेखि नै खोप लगाउन सुरु गरिने मन्त्रालयले जनाएको छ । 

पहिलो चरणको खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइने स्वास्थ्य मन्त्रालयको भनाइ छ । पहिलो खोप लगाएको एक महिना वा चार हप्तापछि दोस्रो खोप दिइने छ । खोप लगाउन शुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको भनाइ छ । भारत सरकारले यही माघ ८ गते अनुदानमा नेपाललाई १० लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको थियो । 

प्रतिक्रिया दिनुहोस