नेकपा विभाजनको फाइदा उठाउँदै नेपाली कांग्रेस, आफ्नो नेतृत्वको सरकार बनाउने रणनीतिको खोजीमा

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्तावमा बन्यो नेपाली कांग्रेस निर्णायक

सफल खबर संवाददाता

शुक्रबार, ०९ माघ २०७७, १२ : ००
नेकपा विभाजनको फाइदा उठाउँदै नेपाली कांग्रेस, आफ्नो नेतृत्वको सरकार बनाउने रणनीतिको खोजीमा

काठमाडौं । काँग्रेसले नेकपा विभाजबाट उत्पन्न परिस्थितको फाइदा उठाउँदै आफ्नो नेतृत्वमा सरकार बनाउने रणनीतिको खोजीमा छ ।  बागमती प्रदेशको प्रदेशसभामा मुख्य मन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव परेपछी प्रदेशसभामा २२ सांसद रहेको काँग्रेस निर्णायक देखिएको छ । उक्त समूहले मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई अगाडि सारेका छन्।  तर वाग्मती प्रदेशमा नयाँ सरकार गठन गर्न वा अविश्वासको प्रस्ताव सामना गर्न दुवै पक्षलाई प्रमुख प्रतिपक्ष काँग्रेसको साथ अनिवार्य बनेको छ । 

ओली पक्षका मुख्यमन्त्री पौडेललाई टिकाउन होस् वा प्रचण्ड–नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको कुर्सीमा पुर्याउन काँग्रेसको साथविना सम्भव छैन । मुख्यमन्त्री पौडेललाई सरकार बचाउन थप २० सांसद आवश्यक पर्नेछ भने शाक्यलाई सरकार बनाउन १२ सांसद अपुग देखिन्छन् । यस्तो अवस्थामा नेपाली कांग्रसेको बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुसँग सभापति शेरबहादुर देउवाले छलफल गरिरहेका छन् ।  देउवा निवासमा अहिले छलफल चलिरहको कांग्रसेका एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । छलफलमा देउवासहित कांग्रसेका केही शीर्ष नेताहरु पनि सहभागी छन् । 

 यसै विषयमा निर्णय गर्नेका लागि कांग्रेस नेताहरु अहिले देउवानिवासमा जुटेको ती केन्द्रीय सदस्यहरुले जानकारी दिए । सभापति देउवाले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावबारे संस्थागत धारणा बनाउन नेताहरुसँग परामर्श थालेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 

१ सय १० सांसद रहेको बागमती प्रदेशमा सरकार जोगाउन र बनाउन ५६ सांसदको आवश्यक पर्छ । ओली पक्षसँग ३६ सांसद देखिएका छन् भने प्रचण्ड–नेपाल ४४ सांसद छन् । पछिल्लो समय प्रचण्ड–नेपाल पक्षका तीन सांसद ओली पक्षतिर र ओली पक्षका एक सांसद प्रचण्ड–नेपाल समूहतिर लागेका अवस्था छ ।

विवेकशील साझाका तीन, राप्रपाका दुई, नेपाल मजदुर किसान पार्टीका दुई र स्वतन्त्र सांसद एक सांसद प्रचण्ड–नेपाल समूहसँग मिले पनि प्रदेश सरकार गठन हुन सक्दैन भने उनीहरुले मुख्यमन्त्री पौडेललाई समर्थन गरे पनि सरकार जोगिने अवस्था छैन ।

आजको छलफल पनि यसै विषयमा केन्द्रित हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस