बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारबाही

रासस

शुक्रबार, ०९ माघ २०७७, १० : ४५
बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारबाही

सर्लाही । सर्लाहीको बरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारबाही गरिएको छ । प्रहरी नियमावली, २०७१ संशोधनसहित को परिच्छेद १० को नियम ११२ को देहाय क, घ र च को कसुरमा ऐन नियमावलीको नियम ११९ को उपनियम १ को २ ले दिएको अधिकारको प्रयोग गरी सोही नियमावलीको नियम १०९ को खन्ड (क) ७ बमोजिम १४ प्रहरी कर्मचारीलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

प्रहरी बर्दी लगाएर तास खेलिरहेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सो विषयमा छानबिन अघि बढाएको थियो । छानबिनपछि छ प्रहरी जवान, दुई प्रहरी हवल्दार र दुई प्रहरी सहायक निरीक्षकलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । भिडियो खिच्ने र मिडियासम्म पुर्‍याउने पाँचजनालाई हालको पदको ज्येष्ठतासहित खाइपाइ आएको सुरु स्केलमा घटुवा गर्ने, तास खेल्ने पाँचजनालाई नसिहत र तास खेलेको हेर्ने दुईजनालाई सख्त चेतावनी दिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए । अनुसन्धानका क्रममा भिडियो एक वर्षपहिला नै खिचेको पाइएको पनि उनले बताए ।

तास खेल्ने, भिडियो बनाउने र भिडियो मिडियासम्म पुर्‍याउने प्रहरी सहायक निरीक्षक, प्रहरी हवल्दार र प्रहरी जवानलाई इलाका प्रहरी कार्यालय बरथहवामै झिकाएर कारबाही गरिएको इलाका प्रहरी कार्यालय बरथहवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए । प्रहरीले बर्दी लगाएर तास खेलेकोे भिडियो आफूलाई पुस २१ गते मात्र प्राप्त भएको बताउँदै प्रहरी नायब उपरीक्षक भाटले छानबिन समिति बनाएर छानबिन गरेका थिए । उक्त तास खेलेको तथा भिडियो खिचिएको समयमा आफू सर्लाहीमा नै नभएको बताउँदै आएका प्रहरी नायब उपरीक्षक भाटले अनुसन्धानपछि भिडियो एक वर्षपहिला नै तयार पारिएको र आफू त्यो समयमा सर्लाहीमा नआएको बताएका छन् ।

भिडियो एक वर्षपहिलाकै रहेको साथै तास खेल्ने, हेर्नेमध्येका धेरैजसो प्रहरी कर्माचारी पहिले नै सरुवा भएर अन्यन्त्र गइसकेका र उनीहरुलाई आफ्नो कार्यालयमा झिकाएर कारबाही गरिएको उनले बताए । कारबाही पर्नेमा प्रहरी जवान मोहन थापा, अर्जुनकुमार सिंह, राजकिशोर भण्डारी, गीता चौधरी र सन्तोषकुमार यादवको खाइपाइ आएको सुरुको तलबमा घटुवा गरिएको छ । त्यसैगरी, प्रहरी सहायक निरीक्षक प्रमोदप्रसाद यादव र राजकुमार साहका साथै प्रहरी हवल्दार महेशप्रसाद यादव, रामबाबु साह र प्रहरी जवान जीतनारायण रायलाई पहिलोपटक नसिहत दिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । अरु दुई प्रहरी जवान सञ्जयकुमार साह र तिलबहादुर मगरलाई सख्त चेतावनी दिइएको सर्लाही प्रहरीले जनाएको छ ।

त्यसैगरी, इलाका प्रहरी कार्यलय लालबन्दीमा कार्यरत् प्रहरी हवल्दार पुष्पजंग कार्की र अस्थायी ट्राफिक प्रहरी पोस्ट लालबन्दीमा कार्यरत् प्रहरी जवान नवराज खड्कालाई पनि कारबाही गरिएको छ । उनीहरुबीच सवारी–साधनलाई कारबाही गर्ने विषयमा विवाद हुँदा बर्दीमै ड्युटीमा रहेको समयमा बीच सडकमै हानाहान भएको थियो । उनीहरु दुवैलाई सख्त चेतावनीसहित २ नम्बर प्रदेश दंगा नियन्त्रण ढल्केवरमा कारबाहीका लागि पठाइएको सर्लाही प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस