वामदेवको अभियान : नारा एकताको, अध्यक्षमा ध्यान

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ माघ २०७७, ०८ : ०१
वामदेवको अभियान : नारा एकताको, अध्यक्षमा ध्यान

काठमाडौँ । पत्नी सीताको उपचारका लागि मुम्बई पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल फर्केकै दिन पुस २३ को साँझ वामदेव गौतमले खुमलटार पुगेर उनीसँग दुई घण्टा छलफल गरे । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि विभाजित नेकपाका दुवै समूहमा औपचारिकरुपमा नजोडिएका र पार्टी एकताका लागि अभियान चलाएका गौतमले त्यस दिन दाहालसँग अर्थपूर्ण संवाद गरे ।

त्यस दिनको संवादमा गौतमले आफू ओली समूहमा लाग्ने प्रष्ट संकेत दिएका थिए । स्रोतका अनुसार गौतमले दाहालसँग भनेका थिए, ‘ढिलोचाँडो म अर्को समूह (ओली समूह) को अध्यक्ष हुन्छु । त्यसपछि सके एकता हुन्छ नभए भिन्दाभिन्दै पार्टी भए पनि सहकार्य गरेर जान सकिन्छ । त्यसैले अहिले धेरै दूरी बनाउने गरी गालीगलौजमा नत्रिउँ ।’

नेकपा -दाहाल–नेपाल समूह) का अर्का अध्यक्ष माधवकुमार नेपाल तथा नेताहरु झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलगायतसँग पनि गौतमले भविष्यमा अर्को समूहको अध्यक्ष बन्ने सम्भावनाबारे जानकारी गराएका थिए । यी तीनमध्येका एक नेताले भने, ‘मसँगको भेटमा उहाँले ओली समूहको अध्यक्ष बन्नसक्ने सम्भावनाबारे संकेत गर्नुभएको थियो ।’

सामाजिक सञ्जालमार्फत् ‘नेकपा एकता राष्ट्रिय अभियान’ सुरु गरिसकेका गौतमले माघ १५ भित्र अभियानको औपचारिक घोषणा गर्ने तयारी गरेका छन् । अभियानको घोषणासँगै, ‘जनताको बहुदलीय जनवाद (तुलनात्मक अध्ययन) र एक्काइसौं शताब्दीको कम्युनिष्ट पार्टी’ नामक पुस्तक पनि विमोचन हुने गौतमको सचिवालयले जनाएको छ ।

पार्टी विभाजनसँगै कतै नलागी अभियानमा जोडिएका गौतमको नजर ओली समूहको अध्यक्षमा पनि उत्तिकै छ । जहाँ गौतमले यसको सम्भावना पनि देखेका छन् । पार्टी विभाजनपछि दाहाल–नेपाल समूहमा दाहाल र नेपाल अध्यक्ष भइसकेका छन् भने ओली समूहमा ओली एकल अध्यक्ष छन् । गौतम ओली प्रधानमन्त्री र आफू पार्टी अध्यक्ष बन्ने पक्षमा रहेको एक नेता बताउँछन् ।

गौतम आफैंले पनि ओलीसँग अध्यक्ष पद दिन प्रस्ताव गरेको तर ओली अझै तयार नदेखिएको बताएका छन् । हालै एक टीभीलाई दिएको अन्तर्वार्तामा गौतमले भनेका थिए, ‘म कतै लागेको छैन, पार्टी एक बनाउनै मेरो कोसिस छ, नेकपा एकता राष्ट्रिय अभियानको संयोजक भएर हिँडेको छु । मैले प्रधानमन्त्री केपी ओलीलाई तपाईं प्रधानमन्त्री चलाउनुस्, मलाई पार्टी अध्यक्ष दिनुस् भनेको हुँ, उहाँले मान्नुभएन ।’

अन्तर्वार्तामा गौतमले बताएअनुसार ओलीले भनेका थिए, ‘निर्वाचन घोषणा गरेर चुनावी महाअभियानमा लाग्दैछु । चुनावमा जान लागेको सिपाही डिमोरलाइज भएर जान चाँहदैन । यो बेला तपाईंले भनेजस्तो अध्यक्ष पद छोड्न सकिदैन ।’ कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस