नेपाल र इजरायल बीच एमओयूमा हस्ताक्षर, अब रोजगारीको लागि नेपाली कामदारलाई इजरायल पठाउन सकिने

सफल खबर संवाददाता

विहीबार, ०८ माघ २०७७, १६ : ०९
नेपाल र इजरायल बीच एमओयूमा हस्ताक्षर, अब रोजगारीको लागि नेपाली कामदारलाई इजरायल पठाउन सकिने

काठमाडौं । वैदेशिक रोजगारीको लागि नेपाली कामदारलाई इजरायल पठाउन सकिने भएको छ । बिहिबार नेपाल र इजरायलबीच नेपाली कामदार अपूर्ति गर्ने प्रोटोकल (एमओयू) मा हस्ताक्षर भएसँगै नेपाली कामदार वैदेशिक रोजगारीमा पठाउन सकिने भएको हो ।

नेपालको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहाल र इजरायलको तर्फबाट नेपालका लागि इजरायली राजदूत हनान गोडरले एमओयूमा हस्ताक्षर गरेका हुन् । नेपाली कामदारहरु केयर गिभर, नर्सिङ होम, अस्पताल, दिवा सेवा केन्द्र लगायतका लागि जान पाउनेगरी सम्झौता गरिएको छ ।

एमओयू हस्ताक्षर कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले नेपाल कृषिप्रधान देश भएकाले कृषिको जनशक्ति इजरायल पठाउन सके श्रमको साथसाथै सिप पनि सिकेर आउने र उक्त सिप नेपालमा प्रयोग हुने भन्दै आगामी दिनमा कृषिको लागि नेपाली कामदार पठाउन पाइने विश्वास व्यक्त गरे ।

नेपाली कामदारलाई इजरायल पठाउने प्रक्रिया चाडै शुरु गर्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस