म फस्ट लेडी बन्नका लागि आतुर छु, तर म शिक्षण पेशा छाड्दिनः जिल बाइडेन

एजेन्सी

विहीबार, ०८ माघ २०७७, १४ : ४०
म फस्ट लेडी बन्नका लागि आतुर छु, तर म शिक्षण पेशा छाड्दिनः जिल बाइडेन

अमेरिका । जिल बाइडेन अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी तथा अमेरिकाकी प्रथम महिला हुन् । सन् २००८ देखि २०१६ सम्म बाइडेन उपराष्ट्रपति छँदा उनी अमेरिकाकी सेकेन्ड लेडी थिइन् । त्यतिबेला उनले एक सामुदायिक कलेजमा इंलिस पढाएकी थिइन् । 

बुधबार पदको सपथ लिएपछि बाइडेनसँगै उनको परिवार ह्वाइट हाउस छिरेको छ । प्रथम महिलाका रुपमा जिल बाइडेनसामु धेरै जिम्मेवारी पनि थपिएको छ । तर, यसका बाबजुद शिक्षण पेशा छाड्ने योजना जिलको छैन । ‘म फस्ट लेडी बन्नका लागि आतुर छु, सेकेन्ड लेडीका रुपमा मैले सैनिक परिवारसँग जोडिने, शिक्षण पेशा, क्यान्सर रोगको लडाँइमा जो बाइडेनसँग मिलेर जे गरेको थिएँ, त्यस्तै काम गर्न चाहिरहेको छु,’ गत महिला ल लेट शोमा स्टेफेन कोल्वर्टसँग कुराकानी गर्दै जिलले भनेकी थिइन्, ‘र, पढाउने कामलाई पनि म निरन्तरता दिनेछु ।’

तीन दशकदेखि जिल अध्यापनमा संलग्न छिन् । ओबामा कार्यकालमा आठ वर्षसम्म जो बाइडेन उपराष्ट्रपति छँदा जिलले नर्थ भर्जिनिया कम्युनिटी कलेजमा पढाएकी थिइन् । फस्ट लेडी बनेपछि पनि नर्थ भजिनिया कम्युनिटी कलेजमै पढाउने उनको योजना छ । यद्यपी, उनको कार्यालयले यसबारे थप जानकारी दिएको छैन । 

अमेरिकाका फस्ट लेडी र ह्वाइट हाउसबारे धेरै चर्चित पुस्तकहरु लेखिसकेका केट एन्डरसन ब्राउअरले शिक्षण पेशालाई निरन्तरता दिने बाइडेनको निर्णय अमेरिकी इतिहासमा अनपेक्षित रहेको बताइन् । ‘सेकेन्ड लेडीले काम गर्नु अस्वभाविक हो । तर फस्ट लेडीले काम गर्नु अनपेक्षित नै हो,’ उनले भनेकी छिन् । जिल बाइडेनले आफ्नो करियरलाई माया गर्ने भएकाले यस्तो योजना बनाएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस