संसद विघटनविरुद्ध ऐक्यवद्धता प्रकट गर्न देउवाको अपिल

सफल खबर संवाददाता

बुधबार, ०७ माघ २०७७, १६ : २१
संसद विघटनविरुद्ध ऐक्यवद्धता प्रकट गर्न देउवाको अपिल

file photo

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको वडास्तरीय प्रदर्शनमा सहभागी भएर,संसद विघटनविरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गरेका छन् । 

बुधबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटना विरुद्ध काँग्रेसले भोलि माघ ८ गते ६ हजार ७ सय ४३ वडाहरुमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपिल गरेका हुन् ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर काँग्रेसले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।

'अब वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु' विज्ञप्तिमा भनिएको छ । संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध काँग्रेसमा एकमत भएको देउवाको भनाइ छ ।

'पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा भोलिको  विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु' देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस