१ हजार ४२ वर्ष बाँचेर दाजुभाई–दिदीबहिनीले बनाए नयाँ विश्व किर्तिमान

एजेन्सी

सोमबार, ०५ माघ २०७७, ०८ : ५४
१ हजार ४२ वर्ष बाँचेर दाजुभाई–दिदीबहिनीले बनाए नयाँ विश्व किर्तिमान

एजेन्सी । डि क्रुज परिवारका दाजु–भाई दिदीबहिनीहरुको उमेर ७५ वर्षबाट सुरु भएर ९७ वर्षसम्म छ । उनीहरु सबैले मिलेर विश्वमै सबैभन्दा धेरै वर्ष बाँच्ने दाजुभाई–दिदीबहिनीको किर्तिमान बनाएका छन् । यी सबै दाजुभाई–दिदीबहिनीहरुको उमेर जोड्दा १ हजार ४२ वर्ष ३ सय १५ दिन हुन आउँछ । 
२०१८ को पारिवारीक जमघटका बेला डि क्रुज परिवारमा विश्व रेकर्डको योजना फुरेको थियो । १२ दाजुुभाई–दिदीबहिनीमध्ये सबैभन्दा कान्छी ७५ वर्षीया जिनियाले आफ्नी एक भतिजीले बोलेको कुरा स्मरण गर्दै भनिन्, ‘यो अद्भूत छ । म यसलाई गिनिज बुकमा लेखाउनेछु ।’सबैले यसलाई त्यतिबेला जोककै रुपमा मिलेका थिए । तर, त्यसको २ वर्षपछि १५ डिसेम्बरमा गिनिज बुकले डि क्रुज परिवारलाई दाजुभाई–दिदीबहिनीहरुको उमेर जोडेर उनीहरुलाई संयुक्त रुपमा सबैभन्दा धेरै उमेर बाँच्ने दाजुभाई–दिदीबहिनीको किर्तिमान थमाइदियो । 

‘यो वास्तविकजस्तो लाग्दैन । मैले सधैं गिनिज बुकलाई अग्लो र होचो वा त्यस्तो व्यक्तिबारे रेकर्ड राख्ने संस्थाका रुपमा बुझें,’ लण्डन निवासी गिनियाले भनिन्, ‘यो अनौठो छ कि उनीहरुले यसलाई पनि गणना गरे । यी सबै दाजुुभाई दिदीबहिनी अझै जीवित रहेकोमा म निकै धन्य छु ।’ डि क्रुज परिवारका सबै सदस्यको जन्म पाकिस्तानको कराँचीमा भएको थियो । तर, कालान्तरमा उनीहरु कोही क्यानेडा, कोही अमेरिका र कोही स्विचरल्यान्ड पुगे । यद्यपी, उनीहरुले सकेसम्म निकट रहने प्रयास गरे ।

मुख्य छुट्टीहरुमा उनीहरु कम्तिमा वर्षमा तीनपटक भेट्ने प्रयास गर्थें । यद्यपी २०२० फरक रह्यो,कोरोना महामारीका कारण उनीहरुले सम्पर्कमा रहनका लागि जुम प्रयोग गरे । हरेक दिन  बिहान ११ बजे (लण्डनको समयअनुसार) सबै १२ जना दाजुभाई दिदीबहिनीहरु भिडियो कन्फ्रेन्समा उपस्थित भएर आफ्ना दिनका योजनाबारे छलफल गर्थें । ‘जब हामीले जुम प्रयोग गर्न थाल्यो । हामी थप निकट भएका छौं,’ ८० वर्षीया टेरेसाले भनिन् । 

कान्छी बहिनी गिनिया केवल १ वर्ष ६ महिनाको छँदा बाबु माइकेलको निधन भएको थियो । त्यसपछि यो परिवारको लक्ष्य नै बच्ने र बचाउनेमा केन्द्रीत रह्यो । उनीहरुले त्यही गरे, तर त्यसबापत गिनिज बुकमा किर्तिमान लेखिनेछ भनेर उनीहरुले चिताएकै थिएनन् । ‘परिवारमा २२ वर्षको अन्तरमा हामी १२ बच्चाहरु जन्मिएका थियौं र जब म १ वर्ष ६ महिनाको थिएँ, तब बाबुको निधन भयो । मेरी आमाले नै हामी सबैलाई हेर्नुपर्ने अवस्था निम्तियो । मलाई थाहा छैन उनले कसरी हेरिन्,’ गिनियाले लण्डन फ्रि प्रेससँग भनिन्,‘हामी धेरै गरिब थियौं, पाकिस्तानमा कुनै जीवन बिमा थिएन ।’

डि क्रुजका दाजुभाई– दिदीबहिनीहरुको नाम र जन्म मिति  यस्तो छ । डोरिन (३ सेप्टेम्बर १९२३), प्याट्रिक (३० सेप्टेम्बर १९२५), जेनेभिइभ (४ जुलाई १९२७), जोइसी (२ मार्च १९२९, रोनी (२४ अगस्ट १९३०, बेरिल (२६ अगस्ट, १९३२), जोय (१ जुन, १९३४), फ्रान्सिस्का (१७ सेप्टेम्बर १९३६),  अल्थिया (२७ जुलाई १९३८, टेरेसा (९ जुन १९४०, रोजमेरी (३० मार्च १९४३), गिनिया (२४ अक्टुबर १९४५)

प्रतिक्रिया दिनुहोस