नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक आज पनि पेरिसडाँडामा बस्दै

सफल खबर संवाददाता

आइतबार, ०४ माघ २०७७, ०८ : ५५
नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक आज पनि पेरिसडाँडामा बस्दै

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक आज पनि बस्दैछ । ओलीगमनको विरुद्ध सुरु गरेको सडक संर्घषको दोस्रो चरणका कार्यक्रम सशक्त बनाउने र आगामी माघ २३ गते काठमाडौंमा हुने विरोध सभामा एक लाख मानिसको उपस्थिति गराउने विषयमा स्थायी समिति बैठक केन्द्रित हुने नेताहरुले बताएका छन् ।

बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ । बैठक हिजो पनि केही घण्टा बसेर सामान्य समीक्षा गर्दै सकिएको थियो । बैठकमा प्रधानमन्त्री केपी ओलीको पक्षको रणनीतिका बारेमा पनि समीक्षा गर्दै ओलीलाई थप अनुशासनको कारबाही गर्ने विषयमा पनि केन्द्रित हुन सक्ने नेताहरुले बताएका छन् । यसको संकेत हिजोकै एक सार्वजनिक कार्यक्रममा अध्यक्ष माधव नेपालले गरिसकेका छन् ।

त्यस्तै आजको बैठकमा नेताहरुको कार्यविभाजन, पार्टी एकताका बाकी कामहरुको पूर्णतालगायतका विषयमा पनि अध्यक्ष माधव नेपालको संयोजकत्वमा गठित कार्यदलको रिपोर्टका आधारमा छलफल हुने बताइएको छ । कार्यदलले आजको स्थायी समितिमा योसम्बन्धी रिपोर्टमा पनि छलफल राख्ने तयारी पनि छ ।

हिजोको छलफलमा प्रदेश इन्चार्जहरुले आन्दोलनका विषयमा बिफ्रिड गरेका थिए भने अध्यक्ष नेपालले आफनो प्रतिवेदन बुझाएका थिए । नेकपाको यो समूहले राजधानीमा एउटा ठूलो आमसभा गरेको छ । त्यसबाहेक प्रदेश भेलाहरू गरिरहेको  छ ।

प्रतिक्रिया दिनुहोस