थारु जातिको मुख्य पर्व माघि देशभर मनाईयो

सफल खबर संवाददाता

विहीबार, ०१ माघ २०७७, १६ : ४१
थारु जातिको मुख्य पर्व माघि देशभर मनाईयो

फाइल तस्विर

काठमाडौं । बिहिबार थारु जातिको मुख्य पर्व माघि काठमाडौँ लगायत देशभर मनाईएको छ ।हरेक वर्ष माघको पहिलो दिन थारु जातिले माघी पर्व मनाउने गर्दछन् । यस वर्ष पनि काठमाडौँ लगायत थारुहरुको बहुल्यता भएको विभिन्न ठाउँमा माघी पर्व मनाईएको छ ।

अघिल्ला वर्षहरुमा काठमाडौँ लगायत विभिन्न ठाउँमा औपचारिक कार्यक्रम गरी धुमधाम र हर्सोल्लासका साथ माघी मनाईने गरिएको थियो । यसपाली भने कोभिड १९ संक्रमणका कारण देशभर सानो समुहमा अथवा परिवार भित्र मात्रै माघी पर्व मनाईएको छ ।

माघीमा मिठो मिठो परिकारहरु बनाएर खाने प्रचलन छ । यस पर्वमा मौलिक परिकारहरु चिचर(भत्कुन), सितुवा, घुगी, हाँसको मासु लगायतका परिकारहरु बनाएर खाने गरिन्छ भने आफ्नो कला, संस्कृति झल्किने पोषाक लगाएर धुमधामसँग माघी मनाईने गरिन्छ । माघीको दिन नुहाएर तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा रहेको छ । यस दिनमा नुहाएर दाल, चामल छोएर मान्यजनसँग आर्शिवाद लिने गरिन्छ ।

माघीलाई एक आपसमा सम्बन्ध प्रगाढ बनाउने पर्वको रुपमा पनि लिने गरिन्छ । यस दिनमा आफ्ना चेलिवेटीहरुलाई उपचार दिने र चेलिबेटीसँगको सम्बन्धलाई सुदृढ बनाउने गरिन्छ । थारु जातिले माघी पर्वलाई नयाँ वर्षको दिनको रुपमा लिने गर्दछन् भने यस दिन देखि नयाँ कामको शुरुवात गर्ने प्रचलन पनि रहेको छ । माघीको दिनमा गाउँ समाजको नयाँ अगुवा चुन्ने तथा घरसल्लाह गर्ने काम पनि गरिन्छ ।

प्रतिक्रिया दिनुहोस