किन सम्बोधन हुँदैन खेलाडीको सेवा सुविधा

सफल खबर संवाददाता

आइतबार, २६ पुस २०७७, १४ : २४
किन सम्बोधन हुँदैन खेलाडीको सेवा सुविधा

काठमाडौं । खेललाई मूल मन्त्र मान्दै जीवन व्यतित गरेका खेलाडीलाई सरकारले दायरा बनाउँदै वितरण गरेको सेवा सुविधा चालु आर्थिक वर्ष शुरु भएदेखि नै पाएका छैनन् । सोही कारण पदक दिलाएका  खेलाडी निराश छन् भने नयाँ पिढीका खेलाडीलाई हौसला पाउनुको सट्टा निराशापन छाएको छ ।

कीर्तिमानी धावन बैकुण्ठ मानन्नधरको यो भनाई सुन्दा लाग्छ नेपाली खेलकुद अझै बामे सर्दैछ । साँघुरा पूर्वाधार र व्यक्तिगत कुन्ठाबाट खेलमा जीवन अहुती गरेका मानन्धरले पुरानो शैलीमा अब खेलकुद चल्न हम्मेहम्मे हुँदै छ भन्ने प्रस्ट भएको बताए । खेलकुद क्षेत्रमा विश्वले मारेको फड्कोलाई आत्मसाथ नगरे नेपाली खेलाडीको स्तर पुरानै अवस्थामा रहने उनको बुझाई छ ।

नेपाल सरकारले नै राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई भत्ता उपलब्ध गराउने निर्णय गरे पनि पदक दिलाएका खेलाडीले गत साउन महिना देखी भत्ता पाउन सकेका छैनन् । यसै विषयलाई लिएर खेलाडीहरुको संगठन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले गत बुधबार नव नियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

यस अघि जगतबहादुर विश्वकर्मा (सुनार) खेलकुदमन्त्री नियुक्त भएको १३ दिनपछि २०७४ साल चैत २६ गते यसरी नै खेलाडी संघले ज्ञापनपत्र बुझाएको थियो । तात्कालिन मन्त्री विश्वकर्माले खेलाडीले खेल क्षेत्रमा आफ्नो भविष्य अनुभूत गर्ने गरी काम गर्ने बताउनु भएको थियो त्यसरी नै यसपल्ट मन्त्री लामाले पनि खेलाडीलाई आश्वासन दिएका छन् ।

यसका अलावा संघले विभिन्न कार्यकालमा मन्त्रालय सम्हाल्दै आएका मन्त्रीसँग पनि माग राख्दै आएको थियो । खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले यसअघिका मन्त्रीहरूलाई गराइएको ध्यानाकर्षण पत्रले खेलाडीको समस्यालाई सम्बोधन गर्ने अपेक्षा राखिएको तर अहिले सम्मपनि सम्बोधन नभएको भन्दै सम्बोधन गर्न आग्रह गरेका छन् ।

खेलाडीहरुको संघ एनएनआईपिएका पदाधिकारीले मन्त्रीसमक्ष खेलाडीले पाउनुपर्ने मासिक प्रोत्साहन भत्ता रातो किताबमै उल्लेख गरेर वितरण गर्न माग राख्दै आएका छन् । तर सम्बोधन भएको छैन । बरु उपलब्ध गराउने भनिएको सेवा सुविधा नपाउँदा खेलकुदमा जीवन विताएका खेलाडी निराश देखिएका छन् । यस्तै खेलमा जीवन विताउन अभिलासा राखेका नयाँ पिढीमा यसको प्रत्यक्ष असर देखिने थालेको छ । जसका कारण युवा खेलाडी पलायन हुने अवस्था दिन प्रतिदिन बढ्ने क्रम जारी छ । पदकको आशा गर्ने तर सेवा सुविधा दिन कन्जुस्याई गर्ने प्रवृतिले खेलकुद क्षेत्र कहिले उघो लाग्ला ?यस विषयमा खेलकुुदको सर्बोच्च निकायले ध्यान दिने सयम आएको हो की ?
 

प्रतिक्रिया दिनुहोस