इन्डोनेशियामा विमान दुर्घटनागस्त क्षेत्र पत्ता लाग्यो

सफल खबर संवाददाता

आइतबार, २६ पुस २०७७, ०९ : ५७
इन्डोनेशियामा विमान दुर्घटनागस्त क्षेत्र पत्ता लाग्यो

एजेन्सी । इन्डोनेशियाका अधिकारीहरूले शनिवार जकार्ताबाट उडेको केही छिनमै समुद्रमा हराएको यात्रुवाहक विमानको दुर्घटनाग्रस्त क्षेत्र पत्ता लागेको बताएका छन्।

बिबिसीका अनुसार उक्त विमान देशको पश्चिम कालिमान्तान प्रान्तस्थित पोन्टिआनक जानका लागि उडेको चार मिनेटमै रेडारको सम्पर्कबाट बेपत्ता भएको थियो। 

श्रीविजया एयरजेटको उक्त बोइङ ७३७ विमानमा चालकदलका सदस्यसहित कुल ६२ जना सवार थिए। विमानमा सबै इन्डोनेशियाका नागरिक थिए । सोलिहिन नाम गरेका माझीले बीबीसी इन्डोनेशिया सेवालाई आफूले दुर्घटना देखेको र आफ्नो जहाजका कप्तानले समुद्रबाट जमिनमा फर्किने निर्णय गरेको बताएका छन्।

‘विमान समुद्रमा चट्याङ परे जसरी खस्यो र पानीमा विस्फोट भयो, उनले भने, ‘त्यो घटना हामी नजिकै भएको थियो।’

विमान हराएको क्षेत्रनजिकै टापुमा बस्ने केही स्थानीय बासिन्दाले बीबीसीलाई आफूहरूले केही सामग्री फेला पारेको र त्यो विमानको भएको ठानेको बताएका छन्।

विमानमा सात बालबालिका र तीन शिशुसहित ५० जना यात्रु र चालक दलका १२ सदस्य रहेको ठानिएको छ। विमानको क्षमता भने १३० यात्रुको थियो।

अधिकारीहरूका अनुसार विमानमा सवार सबै इन्डोनेशियाली नागरिक नै थिए। जकार्तास्थित अन्तर्राष्ट्रिय विमानस्थल र पोन्टिआनकस्थित विमानस्थलमा उनीहरूका आफन्तहरू व्यग्र भएर कुरिरहेका छन्।


 

प्रतिक्रिया दिनुहोस