नेपाली राजनीतिको फोहरी खेलले जनतालाई दुःख दियो : हरिवंश आचार्य

सफल खबर संवाददाता

शुक्रबार, २४ पुस २०७७, १६ : १८
नेपाली राजनीतिको फोहरी खेलले जनतालाई दुःख दियो : हरिवंश आचार्य

काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपाली राजनीतिको फोहरी खेलले जनतालाई दुःख दिइरहेको टिप्पणी गरेका छन् । 

शुक्रबारको कुराकानीमा कलाकार आचार्यले ४० वर्ष अगाडि आफूहरुले कलाकारिता शुरु गर्दा जस्तो अवस्था थियो अहिले व्यक्ति परिवर्तन भए पनि प्रवृति परिवर्तन हुन नसकेको बताए । उनले राजनैनिक विसंगतिले गुण्डा प्रवृत्तिका व्यक्ति संसदमा छिरेको टिप्पणी गरे । 

कलाकार आचार्यले भर्खरै समसामयिक राजनीतिलाई समेटेर एक व्यङ्ग्यमिश्रित गीत सार्वजनिक गरेका छन् । ‘एउटा कुरा कसैलाई भन्नु हुँदैन, यो कुरोलाई गीत बनाएर गाउन मिल्दैन, हेरभाई घने कुरो के छ भने टुडिखेलमा हात देखाउँदा ज्योतिषीले धनी हुन्छौ भने, चुनाव लड्नु भने’ भन्ने गीतमा वरिष्ठ कलाकार आचार्यले समसामयिक राजनीतिमाथि व्यङ्ग्य कसेका छन् । 

नेपालमा बढ्दै गएको भ्रष्ट्राचार र राजनीतिक अस्थिरतालाई लिएर गीत बनाइएको कलाकार आचार्यले बताए । उनले भने, ‘यो गीत कुनै व्यक्ति नेतालाई तोकेर भनेको पनि होइन । कुनै दललाई तोकेर भनेको पनि होइन । युट्युबमा कमेन्टहरु आउँदा फलानोको नाम लिएर यसलाई भनेको यस्तो भनेको भनेर कमेन्टहरु आउँछ । तर प्रवृतिलाई भनेको हो । जुन नेपालमा दण्डहिताको प्रवृति छ त्यो प्रवृतिमाथि व्यङ्ग्य गर्ने हो । हाम्रो आकांक्षा, चिताएको कुरा के हो भने देशमा सुशासन होस् । विधिको शासन होस् । भ्रष्टाचार संसारमा जहाँ पनि हुन्छ । तर त्यसको पनि मापदण्ड हुन्छ । हाम्रो मापदण्ड एकदमै नाघेको जस्तो लाग्छ । हुन त सरकारले भ्रष्टाचार गर्न दिन्न गर्न हुँदैन भनिराखेको छ । तर हामीले गरेको पनि देखिराछौं । कुनै व्यक्तिले नहोला तर समूहमा कसैकसैले गरेको देखिराखेका छौं ।’

कलाकार आचार्यले राजनीतिक क्षेत्रमा लामो समयदेखि प्रवृत्तिको रुपमा रहेको भ्रष्टाचार गाडिएको पनि बताए । ‘चुनाव भन्ने एउटा कस्तो माध्यम भयो भनेदेखि अब खुट्टामा चप्पल पनि लगाउन नसक्नेहरुले चुनाव लडिसकेपछि केही वर्षमा गाडी चढेको हामीले देखेका छौं । तर सबै नेतालाई भनेको होइन । गीतमा पनि त्यही भनिएको छ ।’

राजनीतिमा लागेर धेरै व्यक्तिहरु अर्बपति भएको र रहनसहनमा ठूलो परिवर्तन आएको देखिएको कुरालाई गीतले देखाएको आचार्यले बताए । राजनीतिलाई नै उद्योग बनाउन भएन, व्यापार बनाउन भएन भनेर गीतमा देखाउन खोजिएको छ । नेपालमा यही प्रवृति रहेका कारण जनतामा निरासा आएको उनले बताए । 

उनले भने, ‘जनतामा बढी निरासा छाएको कारण पनि त्यही हो कि यो प्रवृत्ति, भ्रष्टाचारको प्रवृत्ति रोकियोस् । राजनीतिमा मात्रै होइन कि प्रशसनिक क्षेत्रमा पनि त्यत्तिकै छ । जनतालाई सानो काम गर्न प¥यो भनेपनि केही राहत नदिइकन त्यो काम फत्ते होला भन्ने आश नै गर्नुपदैन ।’

देशको राजनीतिक नेतृत्वले देशको पुरै राजनीतिक प्रणालीलाई आफू जस्तै बनाएको विषयलाई पनि गीतमा देखाउन खोजिएको उनले बताए । ‘मैले बेलाबेलामा भन्ने गर्छु कि घरमा बाउ जँड्याहा भयो भने छोराछोरीहरु पनि जँड्याहा हुन सक्छन् । बिग्रिन सक्छन् । बाउआमा नै अनुशासनमा छैनन् भने छोराछोरीहरुलाई अनुशासनमा बस भनेर भएन । हाम्रो राजनीतिको अविभावकत्व नै बिग्रिएको जस्तो लाग्छ । तर मैले एउटा व्यक्ति कसैलाई भनेको होइन । यो प्रवृत्तिलाई भनेको मैले । त्यही प्रवृत्तिमाथि बनाएको गीत हो ।’

उनले देशको प्रजातन्त्र एउटा प्रजातान्त्रिक प्रवृतिमा भन्दापनि राजनीतिक नेतृत्व गर्ने व्यक्तिको प्रवृतिमा निर्भर गरेको बताए । उनले भने, ‘हाम्रो देशको डेमोक्र्यासी जस्तोजस्तो मान्छेले सञ्चालन गर्नुभएको छ त्यस्तै त्यस्तै भइदिएको छ । जुन भाँडामा पानी हालिन्छ त्यही आकार जस्तो भयो ।’

कुनै पनि व्यक्ति कला साहित्यको क्षेत्रमा सफल हुँदैमा राजनीतिमा सफल नहुने मान्यता पनि आचार्यको छ । उनले राजनीतिक व्यक्तिमा संगठन निर्माण, योजना निर्माण लगायतमा योग्य हुनुपर्ने बताए । ‘कला साहित्यको क्षेत्रमा केही गर्न सक्यो भन्दैमा राजनीतिमा पनि त्यो मान्छे सफल हुन्छ भन्ने छैन । त्यो प्रकृतिले दिएको हुन्छ । संगठन गर्न सक्ने क्षमता एउटा नेतामा हुनुपर्छ । कुनै नेतामा योजना बनाउन सक्ने क्षमता हुनुपर्छ । हामीभन्दा धेरै पढेलेखेका योजनाकार हुनुहुन्छ ।’

चुनावमा राजनीतिक नेतृत्वले ठिक व्यक्ति छान्न नसक्दा राजनीतिमा सही व्यक्ति आउन नसकेको बुझाई आचार्यको छ । ‘चुनाव दलहरुले पनि जितेका छन्, सानाहरुले पनि जितेका छन् । काला व्यापारीहरुले पनि जितेका छन् । त्यस्तो प्रवृति भएका मान्छेहरुको साथ लिएर प्रधानमन्त्री हुनुपर्ने, राष्ट्रपति हुनुपर्ने छ । मान्छेको चरित्र आचरण नबुझिकन जो पायो त्यसलाई राजनीतिक पार्टीले टिकट दियो भनेदेखि फेरि चुनाव जितेर आउने डनहरु नै हुन । डनहरुले छानेको मान्छेहरुलाई स्वच्छ शासन गर्न गाह्रो हुन्छ । ती व्यक्तिहरुसँग डर भइरहन्छ । त्यो कारणले गर्दा राजनीतिक संस्कार नै परिवर्तन हुनुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस