लमजुङमा २४ प्रतिवादी फरार

रासस

शुक्रबार, २४ पुस २०७७, १४ : ०८
लमजुङमा २४ प्रतिवादी फरार

सांकेतिक तस्विर

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा तीन आर्थिक वर्षमा २४ जना प्रतिवादी फरार भएका छन् । आर्थिक वर्ष २०७५/२०७६ साउनदेखि चालू आर्थिक वर्षको पुस २३ गतेसम्म बेँसीशहर नगरपालिका वडा नं ८ मा रहेको जिल्ला अदालत लमजुङले विभिन्न मुद्दामा कैद तथा जरिवाना गरेका प्रतिवादी यतिका सङ्ख्यामा फरार रहेको अदालतका श्रेस्तेदार उदयराज काफ्लेले बताए । 

उनका अनुसार लागुऔषध, नकबजनी चोरी, जबर्जस्ती करणी, बालविवाह, अवैधरुपमा काठ ओसारपसारलगायत मुद्दाका २४ पुरुष प्रतिवादी फरार छन् । अदालतका अनुसार चालू आवको साउनदेखि पुस २३ गतेसम्म चार पुरुष प्रतिवादी फरार छन् । जबर्जस्ती करणी, बालविवाह, अवैधरुपमा काठ ओसारपसारलगायत मुद्दाका प्रतिवादी फरार रहेको अदालतले जनाएको छ । 

अदालतका अनुसार गत आव २०७६/२०७७ को एक वर्षका अवधिमा नौ जना विभिन्न मुद्दाका प्रतिवादी पुरुष फरार थिए । लागुऔषध, नकबजनी चोरी, जबर्जस्ती करणी, बालविवाह, अवैध रुपमा काठ ओसारपसारलगायत मुद्दाका नौ पुरुष प्रतिवादी फरार रहेको अदालतका श्रेस्तेदार काफ्लेले बताए । 

त्यस्तै अघिल्लो आव २०७५/२०७६ मा  विभिन्न मुद्दाका ११ प्रतिवादी फरार थिए । फरारमध्ये कर्तव्य ज्यान, बालविवाह, लागुऔषध, नकबजनी चोरी, अवैधरुपमा काठ ओसारपसार, जबर्जस्ती करणीलगायत मुद्दाका प्रतिवादी रहेको अदालतले जनाएको छ । फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गर्न सक्रियता देखाउँदै आए पनि सबै पक्राउ गर्न भने नसकेको अदालतका श्रेस्तेदार काफ्लेको भनाइ छ । 

उहाँले भन्नुभयो, “ढिलो चाँडो सबै फरार रहेको विभिन्न मुद्दाका प्रतिवादी प्रहरीले पक्राउ गर्नेछ । केही फरार प्रतिवादी प्रहरीले पक्राउसमेत गर्दै आइरहेको छ ।” आर्थिक वर्ष २०७७/२०७८ मा ३८ फरार प्रतिवादी प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामा अधिकतम नौ वर्ष छ महिना २१ दिन कैद भुक्तान गर्नुपर्नेदेखि २० रुपैयाँ जरिवाना तिर्नुपर्नेसमेत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । उनका अनुसार गत आवमा १४ जना फरार प्रतिवादी पक्राउ परेका थिए । 

गत आवमा ४० हजारदेखि १८ दिन कैद भुक्तानी गर्न बाँकी रहेका प्रतिवादी पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रनि पुनले भने, “प्रहरी प्रशासन फरार प्रतिवादी पक्राउ गर्न लागिपरेको छ ।” स्थानीयतह, स्थानीयवासी, जनप्रतिनिधि र प्रविधि प्रयोग गर्दै प्रतिवादी पक्राउ गर्न सफल भइरहेकाले आगामी दिनमा पनि पक्राउ गर्न सकिने उनको भनाइ छ । 

जिल्ला अदालतबाट कैद तथा जरिवानाको फैसला गरिसकेपछि प्रतिवादी विभिन्न देशमा रोजगारीका लागि गइसकेकाले पक्राउ गर्न समय लागिरहेको प्रहरीको भनाइ छ । उनीहरु स्वदेश फर्किएपछि पनि कानूनको दायरामा भने ल्याइरहेको प्रनि पुनले बताए । उनले भने, “हामीले फरार रहेका प्रतिवादी ३०/३१ वर्षपछि समेत पक्राउ गरेका छौँ ।” ढिलै भए पनि फरार व्यक्तिलाई कानूनी दायरामा ल्याउँदा पीडितले समेत केही राहत महसुस गरेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस