साझा प्रकाशनले नयाँ नेतृत्व चयन गर्दै

सफल खबर संवाददाता

मंगलबार, २१ पुस २०७७, १५ : ११
साझा प्रकाशनले नयाँ नेतृत्व चयन गर्दै

काठमाडौं । साहित्यकारहरुको साझा संस्था साझा प्रकाशनले ५ बर्षपछि नयाँ नेतृत्व चयनका लागि साधारणसभा गर्दैछ । ललितपुरको पुलचोकस्थित साझा प्रकाशनको कार्यालय मंगलबार बिहान ११ बजे देखि अध्यक्षका लागि मतदान सुरु भएको हो । साझा प्रकाशनका संञ्चालक समितिको निर्वाचन २०७२ साल यता हुन सकेको थिएन ।

विद्यमान ऐन अनुसार २०७५ को असार मसान्त भित्र अध्यक्ष सहितको सञ्चालक समितिको निर्वाचन भईसक्नुपर्ने थियो । व्यवस्थापकिय समस्या राजनीति मिसिएपछि साझा प्रकाशनको साधारणसभा प्रभावित बन्दै आएको थियो । साझा प्रकाशनको विनियममा  हरेक ३ बर्षमा पदाधिकारी निर्वाचित गर्नुपर्ने व्यवस्था छ ।

पछिल्लो सहकारी नियमावलि २०७५ अनुसार २०७५ असार मसान्त भित्र साधारणसभा गरिसक्नुपर्ने थियो । पटक पटक सरकार परिर्वतन, राजनीतिक नियुक्तिले अस्तव्यस्त र राजनीति गर्ने अखडा बनेको साझा प्रकाशनले पछिल्लो पटक २०७७ बैशाख २७ गतेका लागि साधारणसभा तोकेको भएपनि कोरोनाका कारण पुनः स्थगित गरिएको थियो । साझा प्रकाशनको अध्यक्षका लागि साहित्यकार डाक्टर बिजय सुब्बा र पुर्व सञ्चालक जीवनचन्द्र कोइराला प्रतिस्पर्धामा उत्रिएका छन् ।

साहित्यकार डाक्टर सुब्बा यसअघि पनि साझाको संञ्चालक समिति सदस्यमा रहेर काम गरिसकेका छन्। आफुलाई “सिंगो साझा बचाउ अभियानले” उम्मेदवारी बनाएको र साझा भित्र मौलाएको भ्रष्टाचारको अन्त्य गरि राजनीति बाट जोगाएर साहित्यकारहरुको साझा संस्था बनाउनका सदस्यहरुले आफुलाई बिजयी बनाउने विश्वास डाक्टर सुब्बाले व्यक्त गरे ।

अर्का अध्यक्षका प्रतिष्पर्धी जीवनचन्द्र कोइरालाले पनि साझा भित्रको व्यवस्थापकिय कमिकमजोरी र भौतिक पुर्वाधारको पुर्नसंरचनाका लागि आफुले उम्मेदवारी दिएको बताएका छन् ।

कोभिड १९ को जोखिमलाई मध्यनजर गरि साझा प्रकाशनले मंगलबार देखि शुक्रबार ३ बजे सम्मका लागि कार्यालय परिसरभित्र मतदान गर्न सक्ने व्यवस्था मिलाएको छ । निर्वाचन समितिका सदस्य सचिव होमनाथ भट्टराईले स्वास्थ्य सर्तकताका मापदण्ड अपनाएर मतदानको व्यवस्था मिलाईएको जानकारी दिए ।

सदस्यसचिव भट्टराईका अनुसार अन्य ३ जना सञ्चालकहरु र्निविरोध चयय भएका छन् । महिला तर्फ सीता कुमारी ओझा, खुल्ला तर्फ डोरप्रसाद अर्याल र हरि प्रसाद भण्डारी र्निविरोध चयन भएका हुन् । दुई सदस्यीय लेखा सुपरिवेक्षण समितिमा भने कसैको पनि उम्मेदवारी परेको छैन ।

अध्यक्षको निर्वाचनको मत परिणाम आगामी २५ गते सनिबार भर्चुअल रुपमा हुने साधारण सभामा जानकारी गराईने पनि निर्वाचन समितिका सदस्य सचिव भट्टराईले जानकारी दिए ।

सहकारी ऐन २०७४ अनुसार अब निर्वाचित पदाधिकारीको समायावधि ४ बर्ष को हुनेछ । साझा प्रकाशनको २०७०÷७१ देखिलेखा परीक्षण हुन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस