जखडी माईमा ४ लाख ५० हजार लिटरको ओभरहेड ट्यांकी शिलान्यास

चौकीडाँडामा लिफ्टबाट पानी पठाउने महानगरको योजना

प्रकाश सिग्देल

आइतबार, १९ पुस २०७७, १३ : ३३
जखडी माईमा ४ लाख ५० हजार लिटरको ओभरहेड ट्यांकी शिलान्यास

चितवन । जखडी माई सलहगानी खानेपानी तथा सरसफाई आयोजनाको ओभरहेड ट्यांकीको शिलान्यास भएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर ११ जखडी माईस्थित प्राथमिक विद्यालय परिसरमा निर्माण थालिएको ४ लाख ५० हजार लिटरको ओभरहेड ट्यांकीको हिन्दू परम्परा अनुसार पूजा गरी शिलान्यास गरेकी हुन् ।

भरतपुर ११ र १२ का केही क्षेत्रका करिव ४० हजार जनसंख्यालाई लक्षित गर्दै यहाँ पानी ट्यांकी निर्माण थालिएको हो । नेपाल सरकार संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना र भरतपुर खानेपानी ब्यवस्थापन बोर्डको सहलगानीमा २७ करोड १७ लाख २४ हजार ५०० रुपैयाँमा पानी ट्यांकी निर्माण गर्न लागिएको हो । 

खानेपानी ट्यांकी निर्माणका लागि ३४ करोड स्वीकृत भएकोमा टेन्डर प्रकृयामा जाँदा २७ करोड १७ लाख २४ हजार ५०० मा सम्झौता भएको र यसले यो क्षेत्रका स्थानीयको जीवनमा ठुलो योगदान गर्ने मेयर दाहालको भनाई छ । 

खानेपानी आयोजना निर्माणका लागि सि ए वि प्रेरा जेभिले निर्माणको जिम्मा पाएको छ । आयोजना निर्माणका लागि २०७७ असार ८ मा सम्झौता भएको र २०७९ असार ७ गते भित्र सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको भरतपुर खानेपानी ब्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले बताए । 

परियोजना अन्तर्गत ४५० घन मिटरको १ वटा ओभरहेड ट्यांकी, ९०० घन मिटरको १ थान ओभरहेड ट्यांकी, २ वटा डिप बोरिङ, ७५ किलोमिटर पाईप लाईन र ट्यांकी निर्माणस्थलको विद्यालयको कम्पाउण्ड वाल निर्माण र सौचालय निर्माण रहेको दाहालले बताए । आयोजना निर्माणमा कोभिडले केही असर गरेपनि हालसम्म २० प्रतिशत काम सम्पन्न भइसकेको उनको भनाई छ ।

कार्यक्रममा स्थानीयहरुले भरतपुर ११ को अव्यवस्थित समस्या, फोहोर ब्यवस्थापन, बाटो र ढल निकासको समस्या समाधानका लागि महानगर प्रमुख दाहाललाई आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले भरतपुर महानगरले महानगरको सबै वडाका बासिन्दाका लागि स्वच्छ खानेपानी प्रदान गर्न धमाधम लागिपरेको बताइन् । उनले खानेपानीको समस्या भएका मेघौलीदेखि चौकीडाँडासम्मका ठाउँका स्थानीयका लागि सुरक्षित खानेपानीको प्रबन्ध गर्ने दायित्व महानगरको भएको र त्यसका लागि अहिले करोडौँका खानेपानीका आयोजनाहरु धमाधम शिलान्यास भई निर्माण हुने क्रममा रहेको बताइन् । 

पानीको सबैभन्दा बढी समस्या भएको वडा नम्बर २९ को चौकीडाँडामा पानीको समस्या समाधानका लागि महानगरले लिफ्ट योजना ल्याएको पनि दाहालको भनाई छ । पानीको समस्याका कारण स्थानीयहरु त्यहाँबाट सस्तोमा जग्गा जमिन बिक्री गरेर बिस्थापित हुने र तलबाट धनाढ्यहरु गएर त्यहाँ जमिन किनी स्थानीयलाई बिस्थापित हुन बाध्य बनाउने अवस्था सृजना भएको देखिएको बताउँदै उनले त्यस्तो अवस्थाको अन्त्य गराउन त्यहाँ पानीको योजना ल्याइएको बताइन् । 

तलबाट पानी तानेर लिफ्ट प्रणालीमार्फत डाँडामा पुर्याउने र त्यहाँका स्थानीयलाई पानी वितरण गर्ने योजनाका साथ मातहतका निकायहरुसँग समन्वय गरी धमाधम काम अगाडि बढेको मेयर दाहालको भनाई छ । मेयर दाहालले अव्यवस्थित रुपमा बसेका महानगरका बासिन्दालाई लालपूर्जा उपलब्ध गराउन महानगरले लगत संकलन गरी आवश्यक प्रक्रिया थालेको पनि बताइन् । 

वडा नम्वर ११ का अध्यक्ष बाबुराम अधिकारीले भरतपुर महानगर प्रमुख रेनु दाहालको निकै ठुलो कसरतले आफ्ना वडाबासीलाई शुद्ध पानी खुवाउने आफ्नो चाहना पूरा भएको बताए । आफू वडा अध्यक्ष नहुँदादेखि नै यहाँ खानेपानी ट्यांकी निर्माण गर्ने बिषयमा वडाका सबैजसो टोलका पदाधिकारीले आफूलाई नेतृत्व दिएर अगाडि सारेर काम थालेको र पछि वडा अध्यक्ष बनेसँगै काम गर्न झन सहज भएको उनको भनाई छ । ११ नम्वर वडाको विकासका लागि महानगर प्रमुख दाहालको साथ र सहयोग धेरै रहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस