भारतमा सुरु भयो कोरोना खोपको ‘ड्राइ रन’

एजेन्सी

शनिबार, १८ पुस २०७७, १४ : ३०
भारतमा सुरु भयो कोरोना खोपको ‘ड्राइ रन’

भारत । भारतमा आइतबार कोरोना खोपको ‘ड्राइ रन’ सुरु भएको छ । यसक्रममा प्रत्येक राज्य र केन्द्र शासित प्रदेशअन्तर्गतका १ सय १६ जिल्लाका २ सय ५९ स्थानमा  खोप लगाइनेछ ।

मानिसहरुलाई उत्कृष्ट तरिकाले कसरी खोप लगाउन सकिन्छ भनेर परीक्षण गर्न ड्राइ रन आयोजना गरिएको हो । यसपछि भारतको औषधी नियामक संस्थाबाट खोपले स्विकृति पाउनसाथ ठूलो जनसंख्यामा खोप लगाउने काम हुनेछ । 

यसैबीच शनिबार गूर तेग बहादुर अस्पतालमा ड्राई रनको अनुगमनका लागि पुगेका केन्द्रीय स्वास्थ मन्त्री डाक्टर हर्षबर्धनले देशका प्रत्येक नागरिकलाई निशुल्क रुपमा खोप लगाउने घोषणा गरेका छन् ।

प्राथमिकताको आधारमा पहिलो चरणमा तीन करोड मानिसलाई खोप लगाउने योजना पनि उनले सार्वजनिक गरेका छन् ।यस सुचीमा एक करोड स्वास्थकर्मी र दुुई करोड फ्रन्टलाईन कमदार छन् । 
त्यसैगरी दोस्रो चरणमा जुलाईसम्म २७ करोड मानिसहरुलाई खोप लगाउने तयारी भारतले गरेको छ । 

भारतको केन्द्रीय औषधी मानक नियन्त्रण संगठन (सिडिएससिओ) अन्तर्गतको विषय विशेषज्ञ समिति (एसईसी) ले अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपलाई आपतकालिन प्रयोगको अनुमति दिनका लागि सरकार समक्ष सिफारिस गरेको छ । पुनेस्थित सिरम इन्स्टिच्युटले भारतमा यो खोपको उत्पादन र वितरण गर्नेगरी एस्ट्राजेनेकासँग सम्झौता गरिसकेको छ । देशको औषधी महानियन्त्रक संस्था (डिसिजीआई) ले चाडैं यसको प्रयोगका लागि अनुमति प्रदान गर्नसक्छ ।


 

प्रतिक्रिया दिनुहोस