वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृति अब अनलाईन माध्यमबाट दिने

सफल खबर संवाददाता

विहीबार, १६ पुस २०७७, १५ : ५४
वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृति अब अनलाईन माध्यमबाट दिने

काठमाडौं । वैदेशिक रोजगार विभागले भोलि (शुक्रबार) देखि अनलाईन माध्यमबाट पुनः श्रम स्वीकृति दिने भएको छ । 

वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट आवेदन दिई श्रम स्वीकृति लिन सक्ने व्यवस्था मिलाएको हो ।

भोलि देखि नै अनलाइन आवेदन भरेर पुनः श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताउनुभएको छ । यो सेवा लागू भएसँगै पुनः श्रम स्वीकृति लिनका लागि विभागको कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने पनि उनले बताए । एकपटक विभागबाट आईडी लिएका, फिङ्गर प्रिन्ट गराएका, बायोमेट्रिक लिइसकेका व्यक्तिहरुलाई पुरानै विवरणको आधारमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइएपछि अनलाइनबाटै आवेदन दिएर निःशल्क सेवा लिन सकिने व्यवस्था गरिएको दहालले बताए ।

नयाँ श्रम स्वीकृतिका लागि पनि विभागले मेनपावर, मेडिकल र ओरेन्टेशन संस्थाहरुबाट बायोमेट्रिक विवरण तानेर अनलाइनबाट श्रम स्वीकृति दिने व्यवस्था गर्ने विषयमा छलफल गरिरहेको समेत दहालले बताए । अवको दुई महिना भित्रमा नयाँ श्रम स्वीकृति पनि अनलाइन मार्फत दिन सक्ने गरी काम भइराखेको बताए ।

बैदेशिक रोजगारीमा जान एकपटक श्रम स्वीकृति लिइसकेका व्यक्तिहरुले पुनः श्रम स्वीकृति लिनुपरेमा विभागको वेबसाइटमा रहेको अनलाइन श्रम स्वीकृति (एफईआईएमएस) मार्फत फारम भर्न सक्नेछन् । अनलाइनबाट पुनः श्रम स्वीकृति लिने व्यवस्था गरेपछि विदेशमा बसेका नेपालीहरुलाई श्रम स्वीकृति लिन नेपाल आउनुपर्ने बाध्यता हटने पनि दहालले बताए ।

प्रतिक्रिया दिनुहोस