पञ्चेश्वरको विवाद टुंग्याउन ऊर्जा सचिव नेतृत्वको टोली एक्कासि दिल्ली

सुजन अधिकारी

विहीबार, १६ पुस २०७७, ०७ : ५२
पञ्चेश्वरको विवाद टुंग्याउन ऊर्जा सचिव नेतृत्वको टोली एक्कासि दिल्ली

नयाँदिल्ली । दिल्ली आएको एक नेपाली उच्च सरकारी टोली ऊर्जा क्षेत्रका पञ्चेश्वरलगायत विषयमा भारतीय पक्षसँग छलफल गरेर बुधबार स्वदेश फर्केको छ । ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेको नेतृत्वमा परराष्ट्र, कानुन, सिँचाइका सहसचिवसहित पाँच सदस्यीय टोली आइतबार दिल्ली आएको थियो ।

दिल्लीस्थित नेपाली दूतावासले समेत यसबारे कुनै जानकारी सार्वजनिक गरेका छैन । सचिव घिमिरे दिल्ली आएको विषयमा जिज्ञासा राख्दा दूतावासका प्रवक्ता हरि ओडारीले कुनै प्रतिक्रिया दिन चाहेनन् । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सोमबार मात्रै कामचलाउ सरकारका ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई मन्त्रालय पुगेरै बधाई दिएका थिए । उक्त भेटमा उर्जा क्षेत्रसम्बन्धित संयुक्त परियोजनाको कार्यान्वयन र द्विपक्षीय ऊर्जा सहकार्यलाई अघि बढाउने विषयमा छलफल भएको राजदूत क्वात्राले आफ्नो ट्वीटमा उल्लेख गरेका थिए ।

सचिव घिमिरेको टोली र भारतीय पक्षबीच पञ्चेश्वरलगायत ऊर्जा क्षेत्रका महत्त्वपूर्ण विषयमा छलफल भएको छ । यो भ्रमणलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणको पूर्वतयारीका रूपमा पनि हेरिएको छ । ज्ञवाली मन्त्रीस्तरीय नेपाल र भारत संयुक्त आयोगको बैठकका लागि पुस अन्तिम साता दिल्ली आउने सम्भावना छ । यद्यपि नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका कारण दुवै देशले ज्ञवालीको भ्रमणको मितिलाई औपचारिकता दिइसकेका छैनन् ।

दिल्लीस्थित दूतावासका राजदूत नीलाम्बर आचार्यले केही दिनअघि मात्र कान्तिपुरसँगको कुराकानीमा मन्त्री ज्ञवालीको भ्रमणको आवश्यक तयारी चलिरहेको जानकारीसमेत दिएका थिए । त्यसैको तयारीस्वरूप नै सचिव घिमिरेको टोली दिल्ली आएको स्रोतको दाबी छ । परराष्ट्रमन्त्रीको भारत भ्रमण भए पञ्चेश्वर पनि महत्त्वपूर्ण एजेन्डाका रूपमा रहने अधिकारीहरूको भनाइ छ ।

स्रोतका अनुसार मन्त्रीस्तरीय आयोगको बैठकअघि नै पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा सहमति जुटाउने प्रयास थालिएको छ । उच्च राजनीतिक तहमा परियोजनालाई अगाडि बढाउन प्रतिबद्धता व्यक्त हुँदै आए पनि करिब तीन दशक बितिसक्दा पनि अझैसम्म परियोजनाको डीपीआरसमेत टुंगो लाग्न सकेको छैन । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस