नेकपाका दुई समूहबीच भिडन्त, भयो पार्टी कार्यालयमै हात हालाहाल

सफल खबर संवाददाता

आइतबार, १२ पुस २०७७, १३ : ०९
नेकपाका दुई समूहबीच भिडन्त, भयो पार्टी कार्यालयमै हात हालाहाल

धनगढी – नेकपाका विभाजित दुई पक्षले कञ्चनपुरको पार्टी कार्यालय कब्जा गर्न खोज्दा अहिले कार्यालय परिसरमा दुई समूहबीच भिडन्त भएको छ । कञ्चनपुरमा नेकपाका दुई समूहबिच विवाद भएको हो ।  नेकपाका अध्यक्ष केपी ओली र प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताबिच आइतबार पार्टी कार्यालयमै हात हालाहाल भएको छ ।

नेता भीम रावलको उपस्थितिमिा कञ्चनपुर पार्टी कार्यालयमा प्रचण्ड–नेपाल पक्षले आज आइतबार साढे १२ बजे कार्यक्रम गर्ने तयारी गरेपछि त्यसलाई रोक्न ओली पक्षले कार्यालयमा ताला लगाएका थिए। पछि प्रचण्ड–नेपाल पक्षले ताला खोलेर कार्यक्रम गर्न खोजेपछि कार्यालय स्थलमा झडपको अवस्था भएको हो।

पार्टी कार्यालय परिसरको अवस्था तनावग्रस्त भएपछि स्थानीय प्रशासनले जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाको नेतृत्वमा प्रहरी परिचालन गरिएको जनाएको छ।

प्रचण्ड–नेपाल समूहले पार्टी कार्यालयमै भेलाको आयोजना गरेको भन्दै ओली पक्ष विरोधमा उत्रिएको थियो। अहिले पनि दुवै पक्षका नेता कार्यकर्ताबिच वादविवाद भइरहेको छ।
कञ्चनपुरमा जिल्ला अध्यक्ष विरबहादुर थापा ओली पक्षका हुन् भने सचिव तारा लामा प्रचण्ड–नेपाल पक्षका हुन्।

प्रतिक्रिया दिनुहोस