कोरोना भाइरसको नयाँ प्रकार विश्वभर फैलँदै

एजेन्सी

आइतबार, १२ पुस २०७७, ११ : ०९
कोरोना भाइरसको नयाँ प्रकार विश्वभर फैलँदै

काठमाडौं। पहिले भन्दा बढी संक्रमक मानिएको कोरोना भाइरसको नयाँ प्रकार पहिलोपटक बेलायतमा पहिचान भएदेखि अहिले क्यानडा, युरोपेली मुलुकहरु सहित एसियामा पनि फेला परिरहेको छ । स्पेन, फ्रान्स, स्वीट्जरल्यान्ड र स्वीडेनमा यसअघि बेलायतबाट आएका मानिसहरु यही नयाँ भाइरसबाट संक्रमित भएको खबर गरिएको छ । 

यता क्यानडामा चाहिँ एक जोडीमा यो संक्रमण पत्ता लागेको छ तर उनीहरुको यात्रा विवरण भने थाहा नभएको बताइएको छ । त्यस्तै जापान र सिंगापूरमा पनि यस सम्बन्धी खबर गरिएको छ ।  जापान सरकारले त स्थानीय बाहेकका सबै विदेशी नागरिकहरुलाई देश भित्र प्रवेश गर्नमै निषेध गर्ने बताएको छ । 

सोमबारबाट लागू हुने यो प्रतिबन्ध एक महिनासम्म जारी रहने भनिएको छ । बेलायतबाट आएका पाँच जना संक्रमित यात्रु बाहेक जापानमा अन्य दुई जना स्थानीय रुपमा नयाँ भाइरसबाट संक्रमित भएको पाइएको थियो जो बेलायत कहिल्यै गएका छैनन् । यसकारण पनि समुदायमा संक्रमण फैलने डरले जापानले सिमानामा कडाइ सुरु गरेको हो ।  

गत हप्तादेखि नै कोरोना भाइरसको नयाँ संक्रमक रुपका कारण विश्वव्यापी रुपमा यात्रा प्रतिबन्ध लागू हुने क्रम जारी छ ।  उता युरोपेली मुलुकहरुले अहिले नै खोप लगाउने काम पनि सुरु गरिसकेका छन् । जर्मनीका स्वास्थ्यकर्मीहरु हालै स्वीकृत फाइजर खोप लगाउन अर्को दिन पर्खन नसक्ने अवस्था भएपछि शनिबार नै नर्सिङ होमका जेष्ठ नागरिकहरुलाई सुइ लगाइएको हो । 

हंगेरीमा पनि राष्ट्रिय न्युज एजेन्सीले डेल–पेस्ट सेन्ट्रल अस्पतालका डाक्टरहरुलाई कोरोनाको पहिलो खोप दिइएको खबर गरेको छ । स्लोभाकियामा खोप कार्यक्रम सञ्चालनमा आइसकेको छ ।  युरोपेली युनियनकी प्रमुख उर्सला भोन डेर लेयेनले यसअघि ट्वीटरमा एक भिडियो पोस्ट गर्दै खोप वितरणको खुसी मनाएकी हुन् र यसलाई ‘एकताको भावपूर्ण क्षण’ भनि व्याख्या गरेकी छन् । 

विज्ञहरुका अनुसार कोरोना भाइरसको यो नयाँ रुप बेलायतको अति शक्तिशाली निरीक्षण प्रणालीका कारण पत्ता लागेको हो र यो पहिले भन्दा बढी संक्रमक छ तर खतरनाक चाहिँ नहुने विश्वास गरिएको छ ।  हप्ताको सुरुवातमा डेनमार्क, जर्मनी, इटली, नेदरल्यान्ड्स र अष्ट्रेलियामा पनि नयाँ भाइरस फेला परेको खबर गरिएको थियो । 

पहिलोपटक सेप्टेम्बरमा पत्ता लागेको यो नयाँ प्रकारको भाइरसकै कारण पछिल्ला हप्ता लन्डन र दक्षिणपूर्वी इङ्ल्यान्डमा संक्रमण सङ्ख्या अचानक ठूलो स्तरमा वृद्धि भएको बताइएको छ ।  ती क्षेत्रमा फेला परेका संक्रमितहरुमा दुई तिहाइ भन्दा धेरै यही नयाँ भाइरसबाट संक्रमित भएको पत्ता लागेको हो ।  यो भाइरस सुरुवातको तुलनामा धेरै सजिलोगरी सर्न सक्ने हुनाले पनि यसले चिन्ता उत्पन्न गराएको छ । तर पनि स्वास्थ्यविद्हरुले अहिले निर्मित खोपले यस विरुद्ध काम गर्ने बताइरहेका छन् ।