ओलीको कदमको चर्को विरोध गर्ने  प्रभु साहको यूटर्न : कसरी बने एकाएक मन्त्री ?

शनिबार, ११ पुस २०७७, ११ : १८
ओलीको कदमको चर्को विरोध गर्ने  प्रभु साहको यूटर्न : कसरी बने एकाएक मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेलगत्तै नेकपा नेता प्रभु साहले उनको कदमको कडा विरोध गरे । उनले ओलीको निर्णयलाई ‘आत्मघाती’ कदमको संज्ञा दिए । 

पुस ५ गतेको ओलीको कदमपछि सोही दिन उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ नेपाली जनताले नेकपालाई लगभग दुई तिहाईको ऐतिहासिक स्पष्ट बहुमतमार्फत देशमा स्थायित्व, सुशासन र तिव्र विकास सहित समृद्धिको लक्ष्य हासिल गर्ने, नेपालको संविधानमा रहेको त्रुटिहरूलाई सच्याउँदै जनताको परिवर्तनको चाहना अनुरूप आवश्यक परिमार्जन गर्ने तथा विश्व कम्युनिष्ट आन्दोलनका लागी समेत एउटा नमुना (मोडल) प्रस्तुत गर्ने सुअवसर प्रदान गरेको अवस्थामा पार्टी नेतृत्वको बीच आपसी सहमतिमा अगाडि बढ्नुको सट्टा नेपालको संविधानको मुलमर्म र जनादेश विपरीत २ वर्ष कार्यकाल बाँकी रहँदारहँदै प्रतिनिधि सभा विघटनको निर्णय गर्नु आफैंमा आत्मघाती एवं आपत्तिजनक कार्य हो ।’

त्यसपछि पनि उनले ओलीको कदमको आलोचना गर्दै आए । तर, पुस ७ गते प्रचण्ड–माधव नेपाल पक्षले केपी ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्षको चयन गरेपछि उनी यूटर्न बनेका हुन् । थापाथलीस्थित कार्की बैंक्वेटमा बसेको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठकले माधव नेपाललाई चयन गरेसँगै बैठक हलमै उनले दुई अध्यक्षात्मक व्यवस्था आफूलाई अमान्य हुने भन्दै विरोध गरे । तर, हलबाट पारित भइसकेको विषयमा पुनः छलफल हुन नसक्ने भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले उनको माग अस्वीकार गर्दै बैठक अघि बढाए । 

विगतमा आफूलाई मन्त्री नबनाएको तथा सांगठनिक कार्यविभाजनमा समेत प्रचण्डसँग असन्तुष्ट बन्दै आएका साहले पुस ९ गते सार्वजनिक विज्ञप्ति नै जारी गरेर दुई अध्यक्षात्मक प्रणालीको विरोध गरे । यसो त उनले माधव नेपालको समेत सुरुदेखि नै विरोध गर्दै आएका थिए भने पार्टीले स्पस्टीकरण समेत सोधेको थियो ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मार्क्सवादी मान्यता र लेनिनवादी संगठनात्मक सिद्धान्त विपरित निर्माण भएको दुई अध्यक्षीय प्रणाली अवस्तुवादी र अवैज्ञानिक भएकै कारण देशले गम्भीर घात व्यहोर्नु परेको छ ।

यसै पृष्ठभूमिमा केपी ओलीद्वारा गरिएको संसद विघटनको सिफारिसलाई आत्महत्याको संज्ञा दिँदै प्रचण्ड नेतृत्वलाई सहयोग गर्न अग्रसर भएको थिएँ । तर प्रचण्ड नेतृत्वको समूहले विगतको गल्तीलाई समीक्षा गरी सच्याउनुको साटो वृनरावृत्ति गरेको देखियो ।’

उनले देश र जनतालाई घात गर्ने दुई अध्यक्षीय प्रणाली अस्वीकार गरी सही नेतृत्व प्रणालीको स्थापनाका लागि अनुरोध समेत गरेका थिए । यही बीचमा उनले ओली समूहतिर लाग्नका लागि छलफल चलाएको उनी निकट स्रोतको भनाइ छ । 

उनको सोही विज्ञप्तिपछि साह ओलीतिर लाग्न खोजेको गाइगुइँ चलेपनि ओली पक्षले बोलाएका बैठकमा सहभागी भएका थिएनन् । तर, १० गते एकाएक उनी मन्त्री बनेको सार्वजनिक भएपछि धेरैलाई चकित बनायो । प्रधानमन्त्री ओलीले उनलाई सहरी विकास मन्त्री बनाएका हुन् । 

साह मन्त्री बनेसँगै सामाजिक सञ्जालमा अहिले पदका लागि राजनीतिमा के सम्म हुँदो रहेनछ भन्दै टिकाटिप्पणी भइरहेका छन् । 

नेकपा विभाजित भएपछि पूर्वमाओवादी पृठभूमिका साहसँगै रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, दावा लामालगायत ओलीतिर लागेका छन् । ओलीले शुक्रबार गरेको मन्त्रिपरिषद् पुनर्गठनमा पनि पूर्वमाओवादी पृष्ठभूमिका नेतालाई नै प्राथमिकता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस