असंवैधानिक कदम फिर्ता गर्ने उपाए नै आन्दोलन हो, हामीले राजालाई पनि यसरी नै फालेका थियौ : प्रदर्शनकारी

रासस

शुक्रबार, १० पुस २०७७, ११ : २७
असंवैधानिक कदम फिर्ता गर्ने उपाए नै आन्दोलन हो, हामीले राजालाई पनि यसरी नै फालेका थियौ : प्रदर्शनकारी

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूह संसद् विघटनको असंवैधानिक कदमको विरोध गर्दै सडकमा उत्रिएको छ । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल पक्षले शुक्रबार गरेको प्रदर्शनका कारण प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक नारा लगाएका छन् । उनीहरुले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले ‘असंवैधानिक कु’ गरेको आरोप लगाउँदै त्यसको खारेजीको माग गरेका छन् ।

नेकपा केन्द्रीय सदस्य राजेन्द्र राईले आन्दोलनबाटै असंवैधानिक कदम फिर्ता गर्न सम्भव हुने बताएका छन् । “विभिन्‍न प्रक्रियाबाट दबाब दिने हो । यो पनि एउटा दबाबको रुप हो । यसरी नै हामीले राजालाई फालेका हौं। त्यसो हुनाले असंवैधानिक कदमको फिर्ता गर्न सम्भव छ,’’ उनले भने ।
उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्र विरोधीको संज्ञा दिँदै उनको असंवैधानिक कदमका कारण जनताले दुःख पाएको समेत आरोप लगाएका छन् । 

संवैधानिक सर्वोच्चता कायम गर्न माग गर्दै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भारतीय दलाल’ भएको आरोप समेत लगाएका छन् । पार्टी विभाजित बनेसँगै प्रर्दशनमा सहभागीहरुले आर्यघाटले के भन्छ...ले भन्छ’ जस्ता केही सुन्नै नसकिने नारासमेत लगाएका छन् । 

प्रर्दशनमा सहभागीहरुले ‘बयलगाडा चढेर अमेरिका जा, ओलीको पाराले दुख पाए साराले, नेकपा एकता जिन्दावाद,बयलगाडा केपी ओली मुर्दावाद
गणतन्त्र विरोधी मुर्दावाद, प्रतिगमनकारी मुर्दावाद, असंवैधानिक कु खारेज गर, भारतीय दलाल केपी ओली मुर्दावाद, एमसीसी चाइँदैन, खड्ग ओली चाहिँदैन’, लगायतका नारा लगाएका थिए । प्रदर्शनमा प्रचण्ड  र माधव नेपाल समेत सहभागी छन् । प्रदर्शनकारीहरु निर्वाचन आयोगतर्फ अघि बढ्दैछन् । उनीहरुले आफूहरु नेकपाको मुलधार भएको आयोगलाई ध्यानाकर्षण गराउनेछन् । यस्तै प्रदर्शनमा सहभागीले सूर्य चिन्ह अंकित झण्डासमेत बोकेका छन् ।
 

प्रतिक्रिया दिनुहोस