कसरी टुंग्याउला निर्वाचन आयोगले नेकपा विवाद ?

पत्रपत्रिकाबाट

विहीबार, ०९ पुस २०७७, ०७ : २५
कसरी टुंग्याउला निर्वाचन आयोगले नेकपा विवाद ?

नेकपाका दुई पक्षले केन्द्रीय कमिटी सदस्यको संख्या फरक–फरक उल्लेख गर्दै निर्वाचन आयोगलाई जानकारी गराएका छन् । पार्टीको औपचारिक विभाजन तथा आधिकारिकता प्राप्तिका लागि केन्द्रीय सदस्यको संख्या नै महत्त्वपूर्ण मानिएका बेला दुवै पक्षको जोड केन्द्रीय कमिटी सदस्य थपघटमै देखिएको छ ।

पार्टी एकीकरणपछि निर्वाचन आयोगमा दर्ताका बखत नेकपाको केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय थियो । आयोगको अभिलेखमा अहिले पनि त्यही संख्या उल्लेख छ । पार्टीले पदेन केही सदस्यलाई जोडेर ४ सय ४७ सदस्यीय भन्दै आएको थियो ।

प्रधानमन्त्री तथा पार्टीका दुई समूहमध्ये एकका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार आयोगलाई केन्द्रीय कमिटी १ हजार ३ सदस्यीय रहेको जानकारी गराएका छन् । पार्टी फुटको स्थितिमा पुगेपछि ओलीले एक्लै निर्णय गरेर सोमबार ५ सय ५६ जना केन्द्रीय सदस्य थपेका थिए । मंगलबार बालुवाटारमा त्यसैको विस्तारित बैठक डाकिएको थियो ।

पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले भने केन्द्रीय कमिटीको आकार घटेको जानकारी आयोगलाई गराएको छ । दाहाल–नेपाल पक्षले बुधबार केन्द्रीय कमिटी ४ सय ३४ सदस्यीय मात्रै रहेको रेकर्ड कायम गरिदिन आयोगलाई पत्र पठाएको छ ।

दाहाल–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले नै केन्द्रीय सदस्य रहेका केही व्यक्तिको मृत्यु भएको, कोही राजदूत, कोही प्रदेश प्रमुख वा कोही अन्य नियुक्तिमा गएकाले तिनलाई हटाउने निर्णय गरेको छ । त्यही निर्णयको प्रतिलिपि आयोगलाई बुझाइएको छ । कान्तिपुर दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस