चुनाव भइहाल्यो भने कति खर्च चाहिएला ?

सफल खबर संवाददाता

बुधबार, ०८ पुस २०७७, १७ : २५
चुनाव भइहाल्यो भने कति खर्च चाहिएला ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरिसकेका छन् । संसद पुनस्र्थापनाको मागसहित १३ वटा रिट सर्वोच्च अदालतमा परेका छन् । सबैको ध्यान यतिबेला सर्वोच्चले के फैसला गर्ला भन्नेमा छ । संसद पुनस्र्थापना गर्ला वा चुनाव जाने फैसला गर्ला अहिले यसै भन्न सकिदैन । यदि चुनाव भइहाल्यो भने कति खर्च लाग्ला ? विकास खर्चलाई चुनावी खर्चमा हाल्दा जनताले थप सास्ती पाउनुपर्ने हो कि भन्ने चिन्ता पनि अहिले बढेको छ । 

एकातिर सरकारी कोष टाट छ । आम्दानीको स्रोत कम छ । लहड र सनकको भरमा पौने तीन वर्षमै प्रतिनिधिसभाको अवसान भएर निर्वाचनको मिति घोषणा भएसँगै अब फेरि ३० अर्ब हाराहारीको रकम जोगाड गर्नुपर्ने स्थिति छ । यति ठूलो पैसा राज्यले धान्न सक्ला ? पुस ३ सम्मको सरकारी आँकडा हेर्ने हो भने सरकारी कोषमा ३६ अर्ब ५६ करोडको जोगाड छ । यसबाट दैनिक प्रशासनिक खर्च चलाउने कि निर्वाचन गर्ने ? कर्मचारी, सेना, प्रहरीको तलबमै मासिक ९ अर्ब हाराहारी खर्च हुने गर्छ ।

सरकारले वैशाख १७ र २७ गरी दुई चरणमा चुनाव हुने घोषणा गरेपछि आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेट्न पुगेका निर्वाचन आयोगका पदाधिकारीले कम्तीमा १ सय २० दिन मागेका थिए । पहिला पनि चुनाव गराइसकेका नरेन्द्र दाहाल र ईश्वरी पौड्यालले दुई चरणमा निर्वाचन गर्दा २० देखि २५ करोड बढी खर्च हुने विवरण पेश गरे । दुई चरणको चुनाव बढी खर्चिलो, सुरक्षा, जनशक्ति परिचालनदेखि अनेकन आशंका हुने हुँदा एकै चरणमा गराउन आयोगको सुझाव थियो । 

आयोगले सोमबारबाटै कार्यदल बनाएर काम थालेको छ । मध्यावधि निर्वाचन घोषणा भइसकेको अवस्थामा कोरोना महामारी, खस्कँदो अर्थतन्त्र आदिका कारण अहिले चुनाव गर्न सम्भव होला कि नहोला भन्ने कोणबाट पनि प्रश्न उठिरहँदा आयोगले सातदेखि आठ अर्ब लाग्ने अनुमान पेश गरेको छ । यो निर्वाचन आयोगका लागि मात्र हो ।

यसमा सुरक्षा, पर्यवेक्षक, सरकारको खर्च जोडिएको छैन । यसअघि ०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ७ अर्ब ७५ करोड ९५ लाख ४१ हजार खर्च भएको थियो । ७४ को निर्वाचनमा सरकार, सुरक्षा निकाय, पर्यवेक्षकलगायतमा खर्च जोड्दा ३० अर्बभन्दा बढी लाग्यो । यसअघि ०६४ निर्वाचनमा आयोगका लागि मात्र २ अर्ब २५ करोड खर्च लागेकोमा ०७० मा बढेर ४ अर्ब ५२ करोड खर्च भएको थियो । यति ठूलो खर्च गरेर चुनाव गराउँदैमा के देशले निकास पाउला ? 

प्रतिक्रिया दिनुहोस