टोपबहादुर रायमाझीले किन छाडे प्रचण्डको साथ ?

पत्रपत्रिकाबाट

बुधबार, ०८ पुस २०७७, ०७ : ५८
टोपबहादुर रायमाझीले किन छाडे प्रचण्डको साथ ?

काठमाडौं । पूर्वमाओवादी धारका नेता टोपबहादुर रायमाझीले क्याम्प परिवर्तन गर्दै केपी ओली पक्षतिर लागेका छन् । आखिर किन उनी ओलीतिर लागेत ? 

उनी भन्छन्, ‘हामीले पार्टी एकता गरेर महत्त्वपूर्ण काम गर्‍यौं । दुई तिहाइको बहुमत ल्यायौं । यो ठूलो उपलब्धिमा टेकेर हामी अघि जानुपर्थ्यो । एकले अर्कालाई हिलो छ्याप्ने र सरकारलाई काम गर्न नदिने व्यवधान भए । नेताको पदमा मात्रै ध्यान गयो । यतातिर ध्यान दिन हुँदैन भनेर मलगायत थुप्रै स्थायी समितिका साथीहरू लाग्यौं । विगतमा विभाजनको डिलमा गइसकेको पार्टीलाई बचाएर चार महिना लग्यौं । अन्ततः साथीहरू मान्नुभएन ।’ 

उनले अगाडि थपे, ‘ प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लिएर जानुभयो । आफ्नै पार्टीका सरकारविरुद्ध लागिसकेपछि अर्को विकल्प भएन । जब अविश्वासको प्रस्ताव अघि बढ्यो, त्यसपछि सरकारसामु अर्को विकल्प थिएन । आफ्नै पार्टीको प्रधानमन्त्रीलाई हटाउने भइसकेपछि नेकपाको सरकार बन्ने अवस्था हुँदैनथ्यो । पार्टीमा विभाजन भइसकेपछि अर्कै सरकार बन्थ्यो ।

सरकार धराशायी, खारेज गर्ने भइसकेपछि सायद प्रधानमन्त्रीले ताजा जनादेश जानुको विकल्प भएन । संसद् भंग गर्ने निर्णय गर्नुभयो । पार्टीमा विभाजन नहुनुपर्थ्यो । विभाजन भइसकेपछि एकातिर लाग्नुपर्ने अवस्था आयो । हामीले एकमतले केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनायौं, अध्यक्ष बनायौं । सबैले मानेको उहाँ संस्थापन हो । प्रचण्डले आफ्नो अध्यक्ष ओलीलाई छाडेर माधव नेपाललाई अध्यक्ष बनाएपछि सही लागेन । नैतिकताले दिएन ।’

उनले प्रचण्डले नेपाललाई अध्यक्ष बनाएर जाँदा टोपबहादुर रायमाझीले पनि सबैले बनाएको अध्यक्ष र प्रधानमन्त्रीलाई मान्नु नै जायज हुने उनले बताए । आजको कान्तिपुरमा रायमाझीको अन्तरवार्ता छापिएको छ ।