साहित्यकार हरिहर सविता विशेषाङ्क नौलो राँको गरियो लोकार्पण

सूर्यप्रकाश कँडेल

मंगलबार, ०७ पुस २०७७, १५ : १५
साहित्यकार हरिहर सविता विशेषाङ्क नौलो राँको गरियो लोकार्पण

तस्वीर : सूर्यप्रकाश कँडेल

चितवन । साहित्यकार हरिहर सविताको दोस्रो वार्षिकीको अवसर पारेर मंगलबार भरतपुरमा एक कार्यक्रमको आयोजना गरी हरिहर सविता विशेषाङ्क नौलो राँको लोकार्पण गरिएको छ ।

साहित्य संगम चितवनले आयोजना गरेको कार्यक्रममा पुस्तकाकार नौलो राँको पत्रिका अंक ११ विमोचन गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि एवं दिवंगत हरिहर सविताकी धर्मपत्नी लीला रेग्मी, साहित्यकार एवं पत्रकार रेशम विरही, साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईं लगायतले पुस्तक विमोचन गरेका हुन् ।

हरिहर सविताको व्यक्तित्व र कृतित्वबारे बोल्दै साहित्यकार एवं पत्रकार रेशम विरहीले साहित्यकार सविता आफ्नो २०१६ सालदेखिको साथी र मित रहेको बताए । उनले भने, ‘हरिहर सविता परिवर्तनको चाहना राख्ने विद्रोही स्वभावको हुनुहुन्थ्यो । उहाँको वैचारिक धार प्रस्ट थियो ।’

हरिहर सविताका भान्जा श्रीप्रसाद दवाडीले कम्युनिष्ट आन्दोलनमा सक्रियतापूर्वक लागेका सविता नौ महिना सैनिक हिरासतमा परेको स्मरण गरे ।

कार्यक्रममा साहित्य संगम चितवनका उपाध्यक्ष बाबुराम पाण्डे, भरतपुर महानगरपालिका ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

साहित्य संगम चितवनका संस्थापक हरिहर सविताका सात वटा कृति प्रकाशित भएका छन् । २००९ साल जेठ २७ गते लमजुङको अलैँचेमा जन्मिएका हरिहरको २०७५ साल पुस ७ गते भरतपुर ७, कृष्णपुरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस