काठमाडौं । नौ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुलेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल बढ्न थालेको छ । पुस महिनाको चिसोमा पनि भक्तजन बिहानैदेखि दर्शन गर्न आउन थालेका छन् ।
भक्तजनलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर दर्शन गराइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ । नौ महिनादेखि भेटीघाटी शून्य रहेको दानपेटिकामा पुस ५ गतेसम्म रु तीन लाख ८२ हजार ८०६ जम्मा भएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो ।
पशुपतिनाथ मन्दिरमा दैनिक करिब तीन हजार भक्तजनले दर्शन गर्न थालेका छन् । सोमबार र शनिबार बढी भक्तजनको भीड लाग्ने गरेको छ । हाल बिहान ६ बजेदेखि एक बजेसम्म मात्र भक्तजनका लागि पशुपतिनाथ मन्दिर खुला गरिएको पनि उहाँले बताउनुभयो । मन्दिर खुलेसँगै पशुपति क्षेत्रका फूल प्रसाद व्यवसायी पनि सक्रिय हुन थालेका छन् । नौ महिनासम्म फूल प्रसाद व्यवसायी पसल बन्द गरेर बसेका थिए । चिसोसँगै पशुपति क्षेत्रमा टहल्ने र घाम ताप्नेको सङ्ख्या पनि बढ्न थालेको छ ।
पुसमा विशेषगरी पशुपति क्षेत्रको सूर्यघाटमा पूजा एवं दर्शन गर्न आउने भक्तजनको भीड लाग्ने गरेको छ । हाल सूर्यघाटमा जान सहज बाटो नभएकाले असहज भएको भक्तजनको गुनासो छ । सूर्यघाट जान सहज मार्ग निर्माण गरिनुपर्ने दर्शनार्थी राजकुमार सिग्देलले माग गर्नुभयो । पुस महिनाको पनि आइतबार सूर्यघाटमा भक्तजनको भीड लाग्छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०६ पुस २०७७, १८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पशुपतिमा बढ्यो जोगी र साधुसन्तहरुको चहलपहल
पशुपति क्षेत्रभित्र पाँच दिनसम्म मासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
पशुपतिको आरती र दीप प्रज्वलनको कपीराइटसम्बन्धी सूचनामा कोषको असहमति
पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन मन्त्री किरातीको निर्देशन
आज पशुपतिमा नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख प्रदर्शन गरिने
पशुपतिमा गरियो सामूहिक गाई पूजा