काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न संरचनाको भुक्तानी विवाद अझै मिलेको छैन । स्थानीय ठेकेदार, कामदार तथा सप्लायर्सलाई भुक्तानी गर्न अझै बाँकी रहेको पाइएको छ ।
मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मेवारी पाएको इटालियन ठेकेदार कम्पनी (सीएमसी) सँग आयोजनाको ठेक्का सम्झौता खारेजी भएको र सीएमसीले भुक्तानी गर्न बाँकी रहेको रकमको भुक्तानी अझै बाँकी रहेको हो ।
लामो समयदेखि यसको भुक्तानी विवाद हुँदै आए पनि अझै मिलान भइसकेको छैन । लामो समयसम्म भुक्तानी नदिएको भन्दै स्थानीय ठेकेदार, कामदार तथा सप्लायर्स कम्पनीले कडा आन्दोलनको चेतावनी दिएका छन् ।
दुई सातादेखि उनीहरूले शान्तिपूर्ण रूपमा आन्दोलनका कार्यक्रम सुरु गरिसकेका छन् । उनीहरूको चेतावनीसँगै सरकारलाई बाँकी भुक्तानी दिन दबाब परेको छ । विरोधका कारण आयोजना निर्माणको काममा असर पुग्नसक्ने अवस्था देखिएको छ ।
खानेपानी मन्त्रालयले सीएमसीको ४ अर्ब रुपैयाभन्दा बढी जफत गरी अर्थ मन्त्रालयको राजस्व खातामा जम्मा गरको छ । सीएमसीले नै बाँकी रहेका भुक्तानी विवरणसमेत सार्वजनिक गरिसकेको छ । सीएमसीले सार्वजनिक गरेको भुक्तानी रकम करिब १ अर्ब ३५ करोड तिर्न बाँकी रहेको छ । पीडित पक्षले सीएमसीले सार्वजनिक गरिसके पनि सरकार भने अझै प्रमाण नपुगेको भन्दै भुक्तानीको समस्या समाधान गर्न आनाकानी गरिरहेको आरोप लगाएको छ । कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०५ पुस २०७७, ०८ : ०६
लेखकबाट थप