कोभिडको कहर : संक्रमणमा को को नेताहरु परे ?

एजेन्सी

शनिबार, ०४ पुस २०७७, ११ : ३५
कोभिडको कहर : संक्रमणमा को को नेताहरु परे ?

काठमाडौं । कोभिड– १९ को कहर संसारभरी छाइरहेकै छ । यसको कहरले को धनी, को गरिब, को नेता, को सर्वसाधारण  कसैलाई छुट्याउँदैन ।

यतिखेर कोरोनाभाइरसको संक्रमण संसारभरका १८८ देशमा फैलिएको छ । फ्रान्सका राष्ट्रपति माक्रोन संक्रमित हुने पछिल्लो राष्ट्रप्रमुख बनेका छन् । बिहीबार राष्ट्रपतीय कार्यालय इलिजी प्यालेसले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।  माक्रोनमा के कस्ता लक्षण देखिए भन्ने विषय खुलाइएको छैन, यद्यपी उनले आफूलाई ७ दिनसम्म आइशोलेट गर्ने विज्ञप्तिमा उल्लेख छ ।

विश्वभर ७ करोड ४६ लाखभन्दा धेरै मानिस कोरोनाको चपेटामा आइसकेका छन् भने १६ लाखभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । कोरोनाबाट संक्रमित हुने विश्वका ठूला नेताहरुको सूची यस्तो छ । 


डोनाल्ड ट्रम्प र मेलानिया ट्रम्प

गत २ अक्टुुबरमा ट्रम्पले ट्वीटरमार्फत आफू र आफ्नी श्रीमती भाइरसबाट संक्रमित बनेको र क्वारेन्टाइनमा बसिरहेको जानकारी गराएका थिए । ट्रम्प तीन दिनसम्म अस्पतालमा बसे, त्यसपछि उनी नाटकीय रुपमा ह्वाइटहाउस फर्किए । यही भाइरसका कारण अमेरिकामा ३ लाखभन्दा धेरैको मृत्यु भइसकेको छ । 


बोरिस जोनसन  

५५ वर्षका बेलायती प्रधानमन्त्रीले २७ मार्चमा आफु संक्रमित भएको र सेल्फ–आइशोलेसनमा बसिरहेको जानकारी गरेका थिए । जोनसोनलाई ५ अप्रिलमा अस्पताल भर्ना गर्नुुपरेको थियो । ६ अप्रिलमा लक्षण थप खराब बनेपछि उनलाई आईसीयूमा लगिएको थियो । कोरोनामुक्त भएपछि जोनसोनले राष्ट्रिय स्वास्थ सेवाका कर्मचारीहरुलाई आफ्नो ज्यान बनाउन भूमिका खेलेको भन्दै धन्यवाद दिएका थिए । 


जैर बोल्सेनारो

 ब्राजिली राष्ट्रपति बोल्सेनारोले गत जुलाईमा आफू संक्रमित भएको जानकारी दिएका थिए । उनले मलेरियाविरुद्धको औषधी हाइड्रोक्लोरोक्विन प्रयोग गरेका थिए । आफ्ना जनतालाई पनि यो औषधी प्रयोग गर्न उनले आग्रह गर्दै आइरहेका छन्, यद्यपी यो कोरोनाविरुद्धको कुनै प्रमाणित औषधी भने होइन । उनले यसलाई ‘साधारण रुघाखोकी’ समेत भनेका थिए । उनले सामाजिक दूरीको नियम पनि पालना गरेका थिएनन् । राष्ट्रपति कार्यालयबाट बाहिर निस्कदा समेत उनी मास्क नलगाई निस्कन्थें । 

अलेस्क्यान्द्रर लुकासेन्को

बेलारुसका यी राष्ट्रपतिले पनि कोरोनाको प्रभावलाई निकै कम आँकेका थिए । उनले कोरोनाकालमा स्वस्थ रहनका लागि भोड्का पिउन जनतालाई आग्रह समेत गरेका थिए । तर, गत जुुलाईमा यी राष्ट्रपतिमा पनि संक्रमण देखियो । यद्यपी, उनमा कुनै लक्षण देखिएको थिएन । कोरोना भाइरस नियन्त्रणका लागि कुनै ठोस मापदण्ड नबनाउने थोरै देशहरुको सूचीमा बेलारुस पनि पर्छ । 

अम्ब्रोस द्लामिनी

अफ्रिकाको एकमात्रै कार्यकारी राजतन्त्रात्मक देश एस्वाटिनीका प्रधानमन्त्री अम्ब्रोस द्लामिनीको १४ डिसेम्बरमा दक्षिण अफ्रिकास्थित अस्पतालमा उपचारका क्रममा निधन भएको छ । उनी कोरोनाबाट संक्रमित थिए । 

होन्डुरसका राष्ट्रपति जुवान ओर्लान्डो हर्नान्डेज, रुसका प्रधानमन्त्री मिखाईल मिस्उस्तिन, अर्मेनियाका प्रधानमन्त्री निकोल पास्हिन्यान, बेलायती राजकुमार चाल्र्स, मोनाकोका राजकुमार अल्बर्ट, इटलीका पूर्व प्रधानमन्त्री सिल्भियो बेर्लुुस्कोनी, दक्षिण सुडानका उपराष्ट्रपति रेइक माचरसँगै उनकी पत्नी तथा रक्षामन्त्री एन्जेलिना, क्यानेडाका प्रधानमन्त्री जस्टिन ट्रयुडोकी पत्नी सोफि ग्रिगोइरी ट्रयुुडोलगायतमा पनि संक्रमण देखिएको थियो ।