गेरु वस्त्रधारी, जो चिनी मिलकै कारण जोगी भए...

शनिबार, ०४ पुस २०७७, ०८ : १८
गेरु वस्त्रधारी, जो चिनी मिलकै कारण जोगी भए...

काठमाडौं । ‘‘काम गर्ने दाहिने हातमा स्टिलको पातो हालेदेखि मैले खेतीकिसानी मात्र होइन गृहस्थ जीवन नै त्यागेँ । अन्य व्यक्ति किन जोगी हुन्छन्, त्यत्ति थाहा भएन तर म चाहिँ खेती गरेर खाने हातका लागि धेरै खर्च र दैनिकी धान्न नसकेर बिरक्तिएँ ।’’

माइतीघरमा धर्ना दिइरहेका उखु खेतीले बिचल्लीमा परेका किसान आन्दोलनमा ऐक्यबद्धता जनाइरहेका सर्लाही, सिसौटिया–११ का रामानन्द यादवको अनुभूति हो यो । उनी ठिही नधान्ने गेरु वस्त्र, मागी खाने भाँडा र लौरोसहित किसानको त्यो आन्दोलनमा हरेक दिन सहभागी छन् । 

गुलियो रस आउने नगदे बाली भनिने उखु रोपेर नुनिलो आँसु रोइरहेका किसानबीच एकजना गेरु वस्त्रमा सहभागी भेटिएपछि उनका बारेमा जान्ने उत्सुकता जाग्यो । संसारप्रतिको मोह त्यागेर घुमी हिँड्ने जोगीको प्रवृत्तिभन्दा फरक यादव किसान आन्दोलनमा देखेर उहाँसँग जिज्ञासा जिज्ञासा राख्दा उनले आफू जोगी हुनुपरेको कारण खोले ।

त्यसपछि उनले उखु खेतीका कारण आफू जोगी हुनुपरेको विवरण सुनाउन थाले । गत वर्ष माइतीघरमै धेरै दिन चलेको उखु किसानको आन्दोलनमा सहभागी भएर घर फर्किने क्रममा घाइते भए ।  उखुको ३३ हजार रुपियाँ बक्यौता लिन सर्लाहीदेखि राजधानीको माइतीघरसम्म सास्ती बेहोरेर सरकार र चिनी मिल साहूको आश्वासन लिएर घर जाँदा बाटामै दुर्घनामा परेपछि घरको सट्टा वीर अस्पतालको ट्रमा सेन्टर फर्किन बाध्य भए । 

डाक्टरले उनको दाहिने पाखुरामा स्टिलको पाता राखेर उपचार गर्दाको खर्च साढे दुई लाख रुपियाँ लाग्यो । नाजुक आर्थिक अवस्थाका कारण उखुको पैसा पाउन आन्दोलनका लागि घरबाट निस्कन पनि चर्को ब्याजमा ऋण लिनुप¥यो । चिनी मिलका साहूले २०७१ सालदेखिकै पैसा नदिएर दुःख दिएको छ । हातको उपचार गर्न घरको सारा सामान बिक्री गर्नुपरेको बताए । 

‘‘स्टिल राखेको हातले काम गर्न सक्दिनँ, झिक्नका लागि पैसा छैन । मेरो विवाह पनि भएको छैन । उखु खेतीले मलाई जोगी बनायो’’, यादवले भने । “साथीहरू आफ्नो आवाज सरकारलाई सुनाउन काठमाडौँको माइतीघर आउने भएपछि मन थाम्न सकिनँ । यसैले म पनि आन्दोलनमा सहभागी भएँ” यादवको भनाइ छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस