‘पार्टी फुटाउन पाइँदैन’ भन्दा मन्त्री श्रेष्ठले यस्तो भने

सफल खबर संवाददाता

विहीबार, ०२ पुस २०७७, १४ : १५
‘पार्टी फुटाउन पाइँदैन’ भन्दा मन्त्री श्रेष्ठले यस्तो भने

काठमाडौं । खबरदार ! पार्टी फुटाउन पाइँदैन, पार्टी फुटे अपार जनातको मन रुन्छ त्यसैले पार्टी फुटमा होइन जुटेरै अघि बढ्नुपर्छ ।  शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई एकताबद्ध रुपमा अघि बढाउन खबरदारी गर्दै स्थानीयले सरकारको साख जोगाउन आग्रह गरेका थिए ।

चन्द्रागिरी नगरपालिका वडा नं १ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पुगेका मन्त्री श्रेष्ठलाई पार्टी फुटाउँदा कार्यकर्ताको केही जाँदैन तर नेताको पद र सेवा सुविधा गुम्ने त होला नि भन्दै व्यङ्ग गरेका थिए ।

सो क्रममा मन्त्री श्रेष्ठले पार्टी फुटको संघारबाट जोगिएको स्पष्ट पार्दै अब मिल्नुको विकल्प नभएको बताए । उनले भने, ‘तपाईहरु ढुक्क हुनुहोस, हामी कुनै पनि हालतमा पार्टी फुट्दैन, फुट्न पनि दिदैनौँ ।’ उनले प्रधानमन्त्री केपी ओलीको सरकार पुरै अवधी टिक्ने बताए । उनले जनताको चाहनाअनुसार विकास निर्माणको कामले तीव्रता लिएको उल्लेख गर्दै जनताको अपार मायाको कारण सरकारको लोकप्रियता बढ्दै गएको बताए।

‘मैले तपाईहरुले उल्लेख गरेको विषयलाई पार्टीको उच्च तहमा पु¥याउने छु, जनताको भनाई सुनेपछि मन्त्री श्रेष्ठले भने, ‘आम कार्यकर्ताको सहयोगमा बनेको सरकार र पार्टी कुनै पनि हालतमा  फुट्न दिदैनौ ।’ उनले सरकार र पार्टीबिच कुनै असमझदारी नरहेको स्पष्ट पार्दैै भने, ‘यदी त्यसो हुन गए तपाईहरुले खबरदारी गर्नुपर्छ ।’

कार्यक्रममा वागमती प्रदेशका सांसद हरिशरण थापाले सरकार र पार्टीलाई बचाउन कार्यकर्ताको तर्फबाट सबै खबरदारी गर्नुपर्ने बताए । कार्यक्रममा चन्द्रागिरी नगरपालिका–१ का अध्यक्ष राजेन्द्र केसीले वडा र सो क्षेत्रको विकासका योजनाबारे जानकारी गराए।

उनले अबको समय विकास निर्माणको समय भएको बताउँदै सरकारले आफ्नो क्षेत्रका सांसदले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले भने –‘अहिलेको सरकारले विकासको कामलाई तीव्रता दिएको छ, यस्लाई निरन्तर रुपमा अघि बढाउनुपर्छ । स्थानीय निकायका पदाधिकारीले पनि विकास निर्माणको कामलाई प्राथमिकता दिएर अघि बढ्नुपर्छ ।’
 

प्रतिक्रिया दिनुहोस