सवारी दुर्घटना : दुईजनाको मृत्यु, पाँच घाइते

रासस

बुधबार, ०१ पुस २०७७, ०९ : १८
सवारी दुर्घटना : दुईजनाको मृत्यु, पाँच घाइते

मकवानपुर । हेटौँडा–नारायणगढ सडकखण्डको लोथर नजिकै गए राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१९ का ४० वर्षीय हरिशचन्द्र उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

गए राति १०ः३० बजेको समयमा सडकमै रोकिराखेको ना८ख ५३३७ नं ट्रकमा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको वाग्मती प्रदेश ३०–३०–१ प ५१३१ नंको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका उप्रेतीको उपचारका लागि चितवनको भरतपुर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मृतक उप्रेती मोटरसाइकल चालक हुन् ।

त्यस्तै गए राति नै मकवानपुरको भीमफेदीमा टिपर दुर्घटना हुँदा तीन घाइते भएका छन् । घाइते हुनेमा हेटौँडा उपमहानगरपालिका–१५ का २३ वर्षीय मिलन मोक्तान, भीमफेदी गाउँपालिका–५ का २१ वर्षीय रमेश भोलन र सोही ठाउँ बस्ने २३ वर्षीय अनुभव मोक्तान रहेको मकवानपुर प्रहरीले जनाएको छ । घाइते तीनै जना मजदुर हुन् ।   गए राति भीमफेदी गाउँपलिका–६ स्थित रिद्धिसिद्धिको खानीबाट चुनढुङ्गा लोड गरी हेटौँडातर्फ आउँदै गरेको बा३ख ६९२७ नंको टिपर सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना हुँदा उनीहरु घाइते भएको प्रवक्ता रानाले बताए ।

उनका अनुसार सो दुर्घटनामा परी घाइते भएकामध्ये हेटौँडाका मोक्तान गम्भीर घाइते भएका छन् । उनीहरु सबै जनाको भीमफेदी स्वास्थ्य केन्द्रमा सामान्य उपचारपश्चात हेटौँडा–११ थानाभर्याङस्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । मकवानपुर प्रहरीले दुवै घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

यसैगरी अछामको पञ्चदेवल विनायक नगरपालिका कीर्तिपुरमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार उक्त टुर्घटनामा परी मृत्यु हुनेमा कैलाली जिल्ला बस्ने ३५ वर्षीय टिपर चालक प्रकाश चौधरी रहेका छन् ।

यसैगरी घाइते हुनेहरुमा बैतडी पाटन नगरपालिका बस्ने २७ वर्षीय योगेश कठायत तथा परशुराम नगरपालिका आलीताल बस्ने ३० वर्षीय डम्मर साउद रहेका छन् । घाइतेलाई थप उपचारका लागि कैलालीतर्फ पठाइएको प्रहरीले जनाएको छ । गैरीटाँडबाट विनायकतर्फ गरिरहेको से१क ७५४ नंको टिपर गए राति दुर्घटनामा परेको हो । टिपर सडकबाट कम्तीमा पनि ५०० मिटर तल खसेको ट्राफिक प्रहरी कार्यालय अछामले जनाएको छ ।