कांग्रेस जागेकै हो त ?

पत्रपत्रिकाबाट

बुधबार, ०१ पुस २०७७, ०७ : ५९
कांग्रेस जागेकै हो त ?

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पराजयपछि आन्तरिक किचलोमा अलमलिएको नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशभर प्रदर्शन गर्‍यो। जनअपेक्षाअनुसार शक्तिशाली (झन्डै दुई तिहाइ बहुमत) सरकारले कामभन्दा कुरा मात्रै गर्दा जनतामा निराशा बढ्दै गएको छ। सरकारप्रति जनतामा आक्रोश बढ्दै गएका बेला सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चरम आन्तरिक विवादमा फसेको छ। विवादलाई कसरी हल गर्ने र साढे दुई वर्षअघिको पार्टी एकतालाई कसरी जोगाउने भन्नेमै नेकपाको ध्यान केन्द्रित छ।

प्रमुख प्रतिपक्षी कांग्रेस पनि ‘मरिच किन चाउरियो आफ्नै पिर’ ले भनेजस्तो बितेको तीन वर्ष व्यक्तिगत र गुटगत लेनदेन र विवादमै रमायो। सरकारका गलत कामको प्रतिवाद गर्ने र उसलाई ठीक ठाउँमा हिँडाउनेभन्दा कांग्रेस औपचारिकतामै सीमित बन्यो। कोरोना भाइरसको उपचार र नियन्त्रणमा सरकारको गैरजिम्मेवारपना, महामारीका बेला खरिद गरिएको औषधि खरिदको भ्रष्टाचार, वाइडबडी, न्यारोबडी जहाज खरिदमा भएको आर्थिक अनियमिताका विषयमा प्रतिपक्षीय आवाज कमजोर बन्यो। जनजीविकाका सवालहरू कांग्रेसको प्राथमिकतामै परेनन्।

सरकारप्रतिको भरोसा गुमाउँदै गएका जनताले प्रतिपक्षीतिर बिस्तारै नजर बढाउँदै लगेका थिए। तर तीन वर्षयता कांग्रेसले पार्टी संगठनलाई न चलायमान बनाउन सक्यो न प्रतिपक्षी भूमिकालाई प्रभावकारी बनाउन। निराशा र आन्तरिक कलहमै सुस्ताएका बेला सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीबीचको भेटले कांग्रेसलाई प्रतिपक्षी होइन, सत्ता साझेदार दलझैं गरेर हेरिएको थियो।

नेकपा विवादले आगामी निर्वाचनबाट फेरि सत्तामा पुगिन्छ भन्ने मानसिकताबाट कांग्रेस नेता तथा कार्यकर्ता ग्रस्त देखिन्थे। जब पार्टी नेता रामचन्द्र पौडेलमाथि उनकै गृहजिल्ला तनहुँमा स्थानीय प्रशासनले पुल उद्घाटनमा रोक लगाउँदै उनलाई नियन्त्रणमा लियो तब कांग्रेस नेताहरू झस्किए। राज्यका सबै अंगमाथि सरकारको प्रत्यक्ष र अप्रत्यक्ष अनावश्यक प्रभाव बढ्दै गएका बेला विपक्षी आवाजलाई पनि बन्द गरेर सरकार एकदलीय सर्वसत्तावादतर्फ उन्मुख हुन थालेको निष्कर्षमा कांग्रेस पुग्यो र कांग्रेस सडकमा आइपुग्यो। सोमबार उसले सरकारका गलत कदमको उजागर गर्दै कांग्रेसले बझाङ र मुस्ताङबाहेक जिल्लामा विरोध प्रदर्शन गर्‍यो। सोमबारको प्रदर्शनमा भएको सहभागिताले कांग्रेसमा उत्साह जगाएको छ। सभापति शेरबहादुर देउवाले त पार्टीलाई नवीन ऊर्जा दिएको बताएका छन्।

के कांग्रेसमा नयाँ जागरण र ऊर्जा आएकै हो त रु प्राध्यापक लोकराज बराल सोमबारको प्रदर्शनले कांग्रेसलाई ‘रिभाइब’ हुने अवसर प्रदान गरेको बताउँछन्। संसद्मा समेत प्रभावकारी भूमिका खेल्न नसकेका बेला, प्रतिपक्षी नेपाली कांग्रेस खोइ भन्ने प्रश्न उठिरहेका बेला पार्टीलाई एकपटक जनमानससम्म पुर्‍याउने काम गरेको बरालको टिप्पणी छ। ‘सरकारको विकृतिविसंगतिले जनतामा निराशा छाएको छ। यस्तो अवस्थामा कांग्रेसले राम्रोसँग काम गर्छ। नेताहरू ठीक ठाउँमा रहन्छन् भन्ने विश्वास र भरोसा दिलाउन सक्नुपर्छ। त्यो काम गर्न कांग्रेसले बाँकी छ,’ उनले भने।

कोरोना भाइरसको नियन्त्रण र उपचारका साथै जनताका दैनिक समस्याको पक्षमा कांग्रेसले आफूलाई खरो रूपमा प्रस्तुत गर्नुपर्ने धारणा राख्दै प्राध्यापक बरालले अहिलेको व्यवस्थाविरुद्ध नै प्रहार भइरहेका बेला संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षतासहितका विषयमा अझै स्पष्ट बनाउनुपर्ने औंल्याए। सडक र संसद्मा सरकारको गलत कामलाई प्रभावकारी रूपमा बाहिर ल्याउनुपर्‍यो। जनताको पक्षमा आफूलाई उभ्याउनुपर्‍यो। पार्टीभत्रको एकतालाई सृदृढ बनाउनुपर्‍यो । 

विधि र विधानअनुसार पार्टी अघि बढ्नुपर्‍यो। विलम्ब नगरी महाधिवेशन गरेर संगठनलाई चुस्त बनाउनुको साथै जनताका समस्या, आर्थिक विकास र लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्दै गफ होइन काम गर्छ भन्नेमा जनतालाई आश्वस्त बनाउन अझै आवश्यक छ। पूर्वमन्त्री एवं कांग्रेस नेता होमनाथ दाहालले सोमबारको एउटै घटनाले कांग्रेसमा जागरण आयो भन्ने निष्कर्षमा पुग्न नसकिने बताउँछन्। नागरिक दैनिकमा खबर छ ।