मेस्सीको एक सय गोल पूरा, चेल्सीलाई हराउँदै बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी

विहीबार, ०१ चैत्र २०७४, ०८ : ५७
मेस्सीको एक सय गोल पूरा, चेल्सीलाई हराउँदै बार्सिलोना क्वाटरफाइनलमा

स्पेनिस क्लब बार्सिलोना युईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इन्ग्लिश क्लब चेल्सीलाई ३ – ० हराउदै बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । यस्तै ओसुमान डेम्बेले थप एक गोल गरे । यो जितसँगै बार्सिलोनाले चेल्सीमाथि समग्रमा ४ – १ को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । यसअघि चेल्सीको मैदानमा भएको पहिलो लेग १ – १ गोलको बराबरीमा सकिएको थियो ।

क्याम्प नाउमा भएको दोस्रो लेगमा बार्सिलोना चेल्सीमाथि सुरुवातबाटै हावी भएको थियो । र, खेलको तेस्रो मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २० औं मिनेटमा डेम्बेले गोल गर्दा बार्सिलोनाले पहिलो हाफमा २ – ० को अग्रता बनायो ।

पहिलो हाफमा २ – ० ले अघि बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्यो । चेल्सी भने खेलमा फर्कन सकेन । त्यसपछि खेलको ६३ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३ – ० को जित दिलाए ।

चेल्सीविरुद्धको दुई गोलसँगै मेस्सीले च्याम्पियन्स लिगमा १ सयौं गोलको कोसेढुंगा पुरा गरेका छन् । मेस्सीले १२३ खेलमा एक सय गोल पुरा गरेका हुन् । -एजेन्सी

प्रतिक्रिया दिनुहोस