बालुवाटारमा सुरु भयो नेकपा स्थायी समिति बैठक

सफल खबर संवाददाता

आइतबार, २८ मंसिर २०७७, १३ : ३७
बालुवाटारमा सुरु भयो नेकपा स्थायी समिति बैठक

फाइल तस्विर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । 

गत मंसिर २१ गते सुरु भएको स्थायी समिति बैठकको पहिलो दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली अनुपस्थित भएका थिए । आजको बैठकमा भने ओली सहभागी भएका हुन् । ओली सहभागी हुने भएरै आजको बैठक धुम्बाराहीबाट बालुवाटार सारिएको बताइएको छ । 

पहिलो दिनकोे बैठकमा दुवै अध्यक्षले सचिवालयमा पेश गरेका प्रतिवेदन र दस्तावेजहरु स्थायी समिति सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको थियो । साथै यही विचमा सहमति खोज्ने अनेकौ प्रयास भएपनि सहमति भने जुट्न सकेन । त्यसका लागि ओली प्रचण्डबीच एक्लाएक्लै र दोस्रो तहका नेताहरुबीच पनि छलफल भएको बताइएको छ ।

आजको बैठकमा नेकपा नेता तथा पूर्व सांसद कमानसिंह लामाको निधनका कारण शोक प्रस्ताव पारित गरेर स्थगित गर्ने तयारी गरिएको छ । पूर्व राजदूत समेत रहेका लामाको गत बिहीवार निधन भएको थियो । 

प्रधानमन्त्री ओली अर्का अध्यक्ष प्रचण्डले ल्याएको प्रतिवेदन फिर्ता गर्नुपर्ने पक्षमा छन् भने प्रचण्ड दुवै प्रतिवदनमाथि छलफल गरेर निश्कर्षमा पुग्नुपर्ने भन्दै प्रस्ताव फिर्ता नगर्ने अडानमा छन् ।

यो बीचमा केही नेताहरुले नेकपाको विवाद समाधान गर्न दुवै अध्यक्षका प्रतिवेदन स्थगित गरेर अर्कै प्रतिवदन बनाउन सकिने भन्दै नेताहरुलाई कन्भिन्स गर्न खोजेपनि त्यसमा प्रचण्ड सहमत हुन सकेका छैनन् ।
४५ सदस्यीय नेकपाको स्थायी कमिटीमा अहिले ४३ सदस्य छन् । सभामुख अग्नी सापकोटा र पूर्वसभामुख कृष्णबहादुर महराको पद रिक्त छ । स्थायी कमिटीमा प्रचण्ड–नेपाल समूह बहुमतमा छ ।

स्थायी कमिटी बैठकलगत्तै पुस ५ गतेदेखि नेकपा केन्द्रीय कमिटीको बैठक बस्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस