किन बैठक नबस्ने अवस्थामा पुग्यो संवैधानिक परिषद ?

सफल खबर संवाददाता

आइतबार, २८ मंसिर २०७७, ०७ : ५४
किन बैठक नबस्ने अवस्थामा पुग्यो संवैधानिक परिषद ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा अनुपस्थित हुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित हुने भएको छ ।

आफ्नै पार्टी नेकपाभित्रको अन्तरसंघर्षले सभामुख अग्नि सापकोटा उपस्थित हुनेरनहुने अन्योल भइरहेकै बेला देउवाले पार्टीको देशव्यापी विरोध प्रदर्शनलाई कारण देखाउँदै बैठकमा आउन अनुकूल नहुने जनाउ शुक्रबार दिएका थिए ।संवैधानिक परिषद्सम्बन्धी ऐनअनुसार बैठक बस्न ६ सदस्यमध्ये कम्तीमा ५ जना उपस्थित हुनुपर्छ ।

निर्वाचन नभएका कारण उपसभामुख पद रिक्त छ । त्यसैले परिषद्का जोकोही सदस्य अनुपस्थित भए पनि बैठक बस्न सक्दैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने विपक्षी दलको नेता अनुपस्थित हुने जानकारी साँझसम्म नआएको बताए । ‘अहिलेसम्म बैठकको तालिका कायमै छ, देउवा अनुपस्थित हुने भन्ने जानकारी आएको छैन,’ उनले भने, ‘उपस्थित हुनुभएन भने संविधान र कानुनअनुसार जे व्यवस्था छ, त्यही हुने होला । अहिलेसम्म बैठक स्थगितको जानकारी भएको छैन ।’

सरकारको सर्वसत्तावाद, दमन र बेथितिविरुद्ध भन्दै कांग्रेसले मंसिर २९ मा देशव्यापी विरोध प्रदर्शन गर्दै छ । पुल उद्घाटनको विवादलाई लिएर मंसिर १७ मा तनहुँमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई स्थानीय प्रशासनले गिरफ्तार र दुर्व्यवहार गरेपछि कांग्रेसले सरकारविरुद्ध प्रदर्शनको घोषणा गरेको हो । प्रदर्शनअघि नै परिषद्को बैठकमा जाँदा सत्तासँग मिलेको सन्देश जान सक्ने बुझेर देउवालाई बैठकमा नजान पार्टीबाटै दबाब परेको थियो । नेता पौडेलले देउवालाई भेटेरै बैठकमा नजान आग्रह गरेका थिए ।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं प्रजातन्त्रका सेनानी श्यामलाल श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न शनिबार बोलाइएको आकस्मिक बैठकपछि परिषद् बैठकमा जानेरनजानेबारे देउवा र पौडेलबीच केहीबेर छलफल भएको थियो । नियुक्तिको सिद्धान्त र मापदण्ड तय नभईकनै परिषद् बैठकमा गएर प्रधानमन्त्रीका खल्तीका मान्छे नियुक्ति गर्न जान नहुने तर्क पौडेलले राखेका थिए । त्यसमा पनि २९ गतेको प्रदर्शनअघि जानै नहुने अडानमा उनी अडिग थिए । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस