अमेरिकाले फाइजर कम्पनीको कोरोना भ्याक्सिनलाई आपतकालिन प्रयोगको अनुमति दियो

एजेन्सी

शनिबार, २७ मंसिर २०७७, १५ : २४
अमेरिकाले फाइजर कम्पनीको कोरोना भ्याक्सिनलाई आपतकालिन प्रयोगको अनुमति दियो

अमेरिका । अमेरिकाको खाद्य तथा औषधी विभागले फाइजर कम्पनीको कोरोना भ्याक्सिनलाई आपतकालिन प्रयोगको अनुमति दिएको छ ।

जर्मन कम्पनी बायोनटेकसँग मिलेर फाइजरले यो भ्याक्सिन बजारमा ल्याएको हो । यससँगै अमेरिकामा ठूलो जनसंख्यालाई खोप लगाउने बाटो खुलेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘मेडिकल चमत्कार’ भनेका छन् । ‘आज हाम्रो देशले मेडिकल चमत्कार हासिल गरेको छ । हामीले केवल ९ महिनामा सुरक्षित र प्रभावकारी भ्याक्सिन ल्याएका छौं,’ उनले भने,‘ यो विश्वका महान् वैज्ञानिक उपलब्धिमध्ये एक हो । यसले दशौं लाखको ज्यान जोगाउनेछ र चाडैं सदाका लागि महामारी अन्त्य गर्नेछ ।’

फाइजरको खोपलाई स्विकृति दिने अमेरिका छैटौं मुलुक हो । यसअघि बेलायत, क्यानेडा, बहराईन, साउदी अरब र मेक्सिकोले यस खोपलाई प्रयोगको अनुमति दिइसकेका छन् ।

अन्य युरोपेली देशहरुले पनि आगामी साताहरुमा फाइजरलाई प्रयोगको अनुमति दिने अनुमान गरिएको छ ।
विश्वमा कोरोना भाइरसबाट अत्याधिक प्रभावित देशमध्ये अमेरिका पहिलो नम्बरमा छ । यहाँ, कुल १ करोड ६२ लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ । त्यस्तै, मृत्यु हुनेको संख्या ३ लाख २ हजार ७ सय ५० पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस