किन दिन खोजिँदैछ सातामा दुई दिन बिदा ?

पत्रपत्रिकाबाट

शनिबार, २७ मंसिर २०७७, ०८ : ४१
किन दिन खोजिँदैछ सातामा दुई दिन बिदा ?

काठमाडौं । कोरोना महामारीले थला परेको मुलुकको पर्यटन क्षेत्रलाई बिस्तारै चलायमान बनाउन सरकारले कर्मचारीलाई सातामा दुई दिन बिदा दिएर आन्तरिक रूपमा घुम्न पठाउने गरी प्रस्ताव तयार पारेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले त्यसरी कर्मचारीलाई सातामा दुई दिन बिदा दिँदा आन्तरिक पर्यटन प्रवद्र्धन हुने र खर्चमा समेत बचत हुने दाबी गरेको छ । तर, कर्मचारीलाई दुई दिन बिदा दिँदा सेवाप्रवाह कमजोर भई सरकार र कर्मचारीप्रति जनताको मोह झनै घट्न सक्ने विश्लेषणसमेत गरिएको छ ।

पर्यटन मन्त्रालयको अध्ययनअनुसार सातामा दुई दिन सार्वजनिक बिदा दिँदा राज्यको ढुकुटीमा १ अर्ब ६४ करोड रुपैयाँ बचत हुने देखिएको छ । सातामा दुई दिन बिदा हुँदा विभिन्न शीर्षकमा १६ देखि २० प्रतिशतसम्म खर्च कटौती हुने सरकारी अध्ययन प्रतिवेदनको ठहर छ ।

सरकारी अध्ययन समितिले तयार गरेको प्रतिवेदनमा चालु आर्थिक वर्ष २०७७–७८ को बजेटमा सामान्य अनुमान गर्दा सरकारी कार्यालय सातामा दुई दिनको सार्वजनिक बिदा दिने व्यवस्थाले वर्षभर इन्धन, विद्युत्, पानी तथा सरसफाइ र यातायात शीर्षकमा करिब १६ देखि २० प्रतिशतसम्म खर्च कटौती हुने उल्लेख छ । सरकारी कार्यालयमा मात्र नभएर निजी क्षेत्रमा समेत यस्तो बिदा दिने प्रस्ताव लाभदायक हुने बताइएको छ । निजी क्षेत्रले यस प्रकारको प्रावधान कार्यान्वयन गर्दा घरभाडाबाहेकका अन्य सञ्चालन खर्च कटौती गर्न सक्ने सो प्रतिवेदनमा उल्लेख छ ।

विशेषगरी, आन्तरिक पर्यटन भ्रमणलाई जोड दिएर अघि सारिएको यस्तो उपायले सातामा दुई दिनको बिदामा कर्मचारीले मुलुकका विभिन्न क्षेत्र घुम्ने भन्दै समितिले प्रतिवेदनमा दुई दिने बिदा प्रस्ताव उपयुक्त हुने केही निश्चित कारण पनि पेस गरेको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस