काठमाडौंका सडकमा २ हजार आधुनिक बत्ती

पत्रपत्रिकाबाट

शुक्रबार, २६ मंसिर २०७७, ०८ : ३०
काठमाडौंका सडकमा २ हजार आधुनिक बत्ती

प्रतिकात्मक तस्विर

काठमाडौं । काठमाडौंका मुख्य सडकमा २ हजार आधुनिक बत्ती जडान कार्य अघि बढाइने भएको छ । पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकीलगायतका क्षेत्रमा करिब १७ करोड रुपैयाँको लगानीमा २ हजार आधुनिक बत्ती जडान कार्य अघि बढाउने सहमति भएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा मन्त्रालयमा भएको सहमतिमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच हस्ताक्षर भएको छ ।

उक्त परियोजनामा काठमाडौं महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहने भएको छ । जसमा काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानी हुनेछ ।

सहमतिअनुसार लागत अनुमान तयार गर्ने, प्रविधिको छनोट गर्ने, खरिद कार्य गर्ने तथा निर्माण कार्यको सुपरिवेक्षण गर्नेलगायतका कार्य नेपाल विद्युत् प्राधिकरणले गर्नेछ । सडक विस्तार हुन सक्ने वा विस्तारका योजना भएका सडकलगायत आवश्यकताअनुसारको सडकमा पोल राख्ने स्थानको अनुमति सडक विभागले दिनेछ । आयोजनाको निर्माण कार्यपश्चात् मर्मत गर्नुपर्ने सडक, फुटपाथलगायतको मर्मत कार्य पनि सडक विभागले गर्नुपर्नेछ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस