स्कुल खोलिए कोरोना थप भयावह हुने चेतावनी

पत्रपत्रिकाबाट

विहीबार, २५ मंसिर २०७७, ०८ : ०३
स्कुल खोलिए कोरोना थप भयावह हुने चेतावनी

काठमाडौं । उपत्यकामा तत्काल विद्यालय खोले कोभिड–१९ को संक्रमण झन् फैलिने र मृत्युदर पनि बढ्ने उच्च जोखिम देखिएको छ । यसले मुलुकमा सम्भावित मानिएको कोभिडको दोस्रो लहर ल्याउने विज्ञहरूको भनाइ छ । उनीहरूले कोभिडको उच्च जोखिम समूहलाई खोपको व्यवस्था नभएसम्म विद्यालय खोल्दा थप जटिलता आउन सक्ने बताएका छन् ।

जाडो याममा कोभिड विस्तारको जोखिमबीच विद्यालय खोल्दा हरेक घरघरमा संक्रमण पुगेर बूढापाका, दीर्घरोगीलगायतमा संक्रमण जटिल बन्न सक्ने चिन्ता उनीहरूले व्यक्त गरेका छन् । ‘हाल जाडो छ, अझै खोप आएको छैन, हतारमा स्कुल खोल्दा समस्या हुन सक्छ,’ स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘स्कुल जाने बालबालिकामा कोभिडको खासै लक्षण देखिँदैन तर उनीहरू संक्रमित हुन सक्छन् र आफ्नो घर, छरछिमेक तथा समुदायमा सहजै संक्रमण फैलाउन सक्छन् । यसले बिरामीमा जटिलतासँगै मृत्युदर बढाउन सक्छ ।’

राजधानीको सहरी क्षेत्र अझै कोभिडको उच्च जोखिममा रहेको र संक्रमणको दोस्रो तरंग आउने सम्भावनासमेत कायमै रहेको औंल्याउँदै डा पाण्डेले भने, ‘हालसम्म स्कुल बन्द रहेकाले कोभिड संक्रमण बढ्न नदिन जनस्वास्थ्यका दृष्टिले धेरै ठूलो सहयोग पुगेको छ ।’कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस