चितवनमा अनुमति लिएर राखिएका हतियारको नवीकरण हुन बाँकी

रासस

मंगलबार, २३ मंसिर २०७७, १९ : ४०
चितवनमा अनुमति लिएर राखिएका हतियारको नवीकरण हुन बाँकी

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले अनुमति लिएर राखिएका हतियार मध्ये १४९ थानको नवीकरण नभएको जनाएको छ । यहाँ व्यक्ति र संस्था गरेर १७३ जनाले १९९ वटा हतियार अनुमति लिएर राखेका थिए । तीमध्ये ३१ संस्था वा व्यक्तिले ४६ थानको मात्र नवीकरण गरेको कार्यालयका खरिदार रुपेश ज्ञावलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्लामा अनुमति लिएर राखिएका हतियारमध्ये एउटाको ठाउँसारी र तीन वटाको लागत कट्टा गरिएको छ । लगत कट्टा गरिएका हतियार नेपाल सरकारले लिइसकेको छ । स्थानीय प्रशासनले पटक–पटक हतियार नवीकरणका लागि आह्वान गरेको भए पनि नवीकरणका लागि आउनेको सङ्ख्या कम रहेको कार्यालयले जनाएको छ ।

ज्ञवालीका अनुसार १६ बोरको एक नाले एक थान, १२ बोरको दुई नाले ११ थान, १२ बोरको एक नाले २४ थान, २२ बोरको राइफल छ थान, २२ बोरको दुईनाले राइफल दुई थान, हावादारी बन्दुक एक थान र टोटावाला मिनेचर टूटू एक थान मात्र नवीकरण भएका छन् । अन्य हतियार पाँच वर्षदेखि १५ वर्षसम्म नवीकरण नभएको पाइएको छ । हतियार खरखजना तेस्रो संशोधन नियमावली २०४५ अनुसार पाँच वर्षभन्दा बढी नवीकरण नगरिएका हतियार राज्यलाई बुझाउनुपर्ने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो । 

 भट्टराईले हतियारको नवीकरणको अवस्थाको बारेमा अध्यावधिक गर्ने काम भइरहेको जानकारी दिनुभयो । केही दिनमा पुनः सूचना जारी गरी तोकिएको समयमा नवीकरण नगर्ने हतियार जफत गरिने बताउनुभयो । हाल कार्यालयले हतियार राख्न नयाँ अनुमति दिएको छैन ।

प्रतिक्रिया दिनुहोस