इजरायलमा केयर गिभर लैजाने तयारी

सफल खबर संवाददाता

मंगलबार, २३ मंसिर २०७७, १५ : १०
इजरायलमा केयर गिभर लैजाने तयारी

सांकेतिक तस्वीर

काठमाडौँ । इजरायलले आगामी महिना देखि नेपालबाट केयर गिभर (हेरचाह कामदार) लैजाने प्रक्रिया शुरु गर्ने भएको छ । 

नेपालका लागि इजरायली राजदूत हनान गोडरले आगामी महिना देखि केयर गिभरका लागि कामदार लैजाने प्रक्रिया शुरु गर्ने बताएका हुन् । नेपालबाट इजरायलको नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र लागयतमा नेपाली केयर गिभर लैजाने सम्बन्धमा गत असोजमा सम्झौता भइसकेको छ । 

सम्झौतापत्रमा असोज १४ गते इजरायलका लागि नेपालकी राजदूत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच श्रम सम्झौता भएको थियो । सोही सम्झौतालाई कार्यान्वयन गर्दै आगामी महिना देखि कामदार छनौटको प्रक्रिया शुरु गरिने राजदूत गोडरले बताए ।

सम्झौता कार्यान्वयनमा आएपछि नेपालबाट धेरै संख्यामा कामदारहरु जान सक्ने पनि राजदूत गोडरले बताए । सम्झौता अनुसार सरकारी तवरबाट नेपाली श्रमिक कामका लागि इजरायल जाने छन् । नेपाली श्रमिकले इजरायली नागरिक सरहको सेवा सुविधा र संरक्षण समेत पाउने छन् ।