कांग्रेस नेता पौडेलले लगाए संगीन आरोप : ओली लोकतन्त्रको लागि १४ वर्ष जेल बसेका होइनन्

सफल खबर संवाददाता

विहीबार, १८ मंसिर २०७७, १८ : ०३
कांग्रेस नेता पौडेलले लगाए संगीन आरोप : ओली लोकतन्त्रको लागि १४ वर्ष जेल बसेका होइनन्

तनहुँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रश्न गर्दै भने–कसले भन्यो ओली लोकतन्त्रको नाममा १४ वर्ष जेल बस्यो भनेर ? उत्तर पनि उनैले दिए, ‘होइन, प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रका लागि नभई व्यक्ति हत्या मुद्दामा १४ वर्ष जेल बसेका हुन् ।’ 

कांग्रेसका वरिष्ठ नेता पौडेलले तनहुँको एक कार्यक्रममा प्रश्न आफैँ गर्दै उत्तर पनि आफैँ दिने काम गरेका हुन् । बिहीबार तनहुँमा एउटा पुल उद्घाटन गर्दै पौडेलले ओली अझै नसुध्रेको दावी गरे । 

कम्युनिष्टहरू लोकतन्त्रवादी नहुने भन्दै पौडेलले झापा काण्डमा व्यक्ति हत्या मुद्दामा ओली १४ वर्ष जेल बसेको आरोप लगाएका थिए । ‘एउटा मुद्दामा झ्याप्प परिहाल्यो। जोशमा आएर झापा काण्ड घटिहाल्यो। यो लोकतन्त्रका लागि हो ? म मान्दिनँ। केपी ओली मेराअगाडि कुरा गरूँन्,’ उनले भने। 

राष्ट्रवादको कुरा गर्ने ओलीले हालै तीन घन्टासम्म बालुवाटारमा भारतीय गुप्तचर संस्था ‘रअ’सँग कुराकानी गरेको उनको भनाइ छ।‘ कम्युनिष्ट कहिल्यै लोकतन्त्रवादी हुँदैनन्,’ उनले भने।

पौडेलले बुधबार नै तनहुँमा पुल उद्घाटन गर्ने भनिए पनि सो क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा गरेको थियो । निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले उनलाई तीन घन्टा नियन्त्रणमा लिएर छाडेको थियो।

उनले आज जुलुससहित गएर पुल व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल उद्घाटन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस