किन शितल निवास बोलाइन् राष्ट्रपतिले इश्वर पोखरेललाई ?

सफल खबर संवाददाता

मंगलबार, १६ मंसिर २०७७, ०९ : ०५
किन शितल निवास बोलाइन् राष्ट्रपतिले इश्वर पोखरेललाई ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवादमा चासो राख्न अझै छोडेकी छैनन् । पार्टीमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली अप्ठयारोमा पर्दै आउँदा उनले शितल निवासको सुरक्षा घेराभित्रबाटै नेकपाको आन्तरिक राजनीतिमा चासो र हस्तक्षेप गर्दै आइरहेकी छिन् ।

उनले पार्टीभित्रका प्रभावशाली नेताहरु, जसले नेकपाभित्रको समिकरण बदल्न समेत भूमिका निर्वाह गर्न सक्छन्, त्यस्ता नेताहरु छानीछानी भेटघाट गर्ने, ओलीको पक्षमा वातावरण निर्माण गरिदिने सम्मका काम गर्दै आईरहेका छन् । यो बीचमा उनले गृहमन्त्री समेत रहेका रामबहादुर थापा (बादल) र उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेकी थिइन् । ओलीलाई साथ दिएर पार्टी एकताको रक्षा गर्न आग्रह गरेकी थिइन् । तर उनले सोमबार भने ओलीलाई साथ दिदै आएका उपप्रधानमन्त्री इश्वर पोखरेललाई बोलाएर झण्डै तीन घण्टा शितल निवासमा भेटवार्ता गरेकी छिन् ।

पार्टीमा दुई अध्यक्ष प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डको फरक फरक दस्तावेज आएपछि नेकपा गम्भिर संकटमा छ । दुवै अध्यक्षका बीचमा एक अर्कालाई लक्षित गर्दै आरोप प्रत्यारोपमा दस्तावेज प्रस्तुत गर्ने काम भएको छ । जसबाट नेकपा गम्भिर संकटमा परेको छ । दस्तावेज पछि आज नेकपाको सचिवालय बैठक दिउसों बस्दैछ । तर बैठकको पूर्वसन्ध्यामा अन्य कुनै प्रसंग नै नरहेको अवस्थामा इश्वर पोखरेललाई राष्ट्रपतिले बोलाएर झण्डै तीन घण्टा के विषयमा छलफल गरिन् ? दुवै पक्षले यस छलफलका विषयमा कुनै जानकारी सार्वजनिक गरेका छैनन् । तर भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

पोखरेल ओली जस्तै अनुदारवादी खेमाका नेता हुन् । तत्कालिन एमाले र माओवादी बीचको एकतापछि आफ्नो महासचिव पद गुमेपछि उनी यो एकता प्रक्रियाप्रति त्यक्ति उत्साहित नेता होइनन् । उनले पार्टी विवादमा आएको मदन भण्डारी फाउन्डेसनका नाममा देशब्यापी रुपमा आफु निकटका नेता कार्यकर्ताको बीचमा जनताको बहुदलीय जनवाद (जवज)को पक्षमा वकालत गर्दै आईरहेका थिए । चिनियाँ रक्षामन्त्री ओइ फेइङले उनीसँग भेटघाट गरेका थिएनन् । रक्षामन्त्री फेइङले राष्ट्रपति सीको सन्देश बोकेर काठमाडौं आएको र उनले त्यो सन्देश राष्ट्रपति भण्डारीलाई सुनाएर फर्केको अनुमान राजनीतिक वृत्तमा भईरहेको छ ।

त्यही सन्र्दभमा र नेकपाको सचिवालय बैठकको पूर्वसन्ध्यामा राष्ट्रपतिले उपप्रधानमन्त्री पोखरेललाई बोलाएर भेटवार्ता गर्नु आफैमा महत्वपूर्ण छ । राष्ट्रपतिले नेकपाभित्रको संकटमा जसलाई साथ दिने हुन्, उनै नेता प्रधानमन्त्री ओलीलाई नै साथ दिदै आएका उपप्रधानमन्त्री पोखरेललाई शितल निवासमा बोलाएर भेटवार्ता गर्नुभित्र खास समिकरण अदलबदलमा त कुनै तात्विक फरक पर्दैन । तर समिकरण अदल बदलमा निक्कै चल्तीफूर्तिका नेता वामदेव गौतमसँग पोखरेलले उनकै निवास भैंसेपाटीमा पुगेर भेटवार्ता गरेका थिए ।

त्यो भेटवार्ता १२ गते राती भएको थियो । सचिवालयमा ओलीको पक्षमा गौतमलाई ललाई फकाई गर्न सकिए समिकरणमा ओलीलाई सहज बनाउन सकिने विश्लेष्णका साथ ओली निकट नेताहरु गौतम भेट्न जाने गरेका थिए । त्यही क्रममा पोखरेलले गौतमसँग १२ गते राती गरेको भेटवार्ता र त्यसपछिको विकसित घटनाक्रमलाई लिएर पोखरेल र राष्ट्रपति भण्डारीका बीचमा भेटवार्ता भएको हुन सक्ने अनुमान नेकपा वृत्तमा छ ।

तर यो पटक उपाध्यक्ष वामदेव गौतमले आफु विधि र पद्दतीका पक्षमा शतिशाल भएर उभिने बताएपछि ओली पक्षमा संकट देखा परिरहेको छ । सोही कारण पनि राष्ट्रपति भण्डारी र उपप्रधानमन्त्री पोखरेल बीचको भेटवार्ता अर्थपूर्ण देखिन्छ । यसको पटाक्षेप आजको नेकपा सचिवालय बैठकमा देखापर्न सक्ने अनुमान गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस