म्याराडोनाका जिउँदा प्रतीक ‘म्यारा र डोना’

पत्रपत्रिकाबाट

मंगलबार, १६ मंसिर २०७७, ०८ : २१
म्याराडोनाका जिउँदा प्रतीक ‘म्यारा र डोना’

काठमाडौं । ब्युनस आयर्सको एउटा सामान्य घरमा दिवंगत म्याराडोना सजीवतापूर्वक रहेका छन् । यो उनको जिउँदो प्रतीक पनि रहेको छ । यो हो, ९ वर्षीया दुई बालिकाको नाम ‘म्यारा’ र ‘डोना’ । गत साता निधन भएका फुटबलका महान् हस्तीको नामसँगै उनीहरूको परिचय जुरेको हो ।

विश्व फुटबलले पाएका अहिलेसम्मकै सर्वकालीन महान् खेलाडी म्याराडोनाले आफ्नो जादुयी खेल मद्दतले अर्जेन्टिनालाई विश्वकपमा सफलता दिलाएका थिए । लागूपदार्थको दुर्व्यसनी रहेका म्याराडोनाको समस्याग्रस्त व्यक्तिगत जीवनका बाबजुत पनि उनलाई अर्जेन्टिनामा ठूलो सम्मानले हेरिन्छ । 

उनको बुधबार मात्रै हृदयाघातले निधन भएको थियो । बिहीबार उनको राजकीय सम्मानसँगै अन्त्येष्टि गरिएको थियो । त्यसक्रममा हजारौं अर्जेन्टिनी उनको सम्मानका लागि सडकमा ओर्लिएका थिए । जुम्ल्याहा म्यारा र डोनाका बुबा वाल्टर रोटुन्डो आफैं म्याराडोनाका समर्थक हुन् । म्याराडोनाको तस्बिर ढाडमा ट्याटु गरेका छन् ।

उनीहरू म्यारा र डोना सानो छँदा म्याराडोनाले बोकेको तस्बिर खुबै गर्वले देखाउने पनि गर्छन् । सन् १९९० को विश्वकपमा म्याराडोना नेतृत्वको अर्जेन्टिना फाइनलमा पश्चिम जर्मनीसँग हारेपछि नै उनले आफ्ना सन्तानको नाम त्यसरी म्याराडोनाको सम्मानमा राख्ने निर्णय गरेका थिए ।

विवाहअगाडि स्टेला मारिया पेजेजलाई पहिलो भेटमै रोटुन्डोले कुनै दिन आफ्ना दुई छोरी हुने र त्यसको नाम म्यारा र डोना हुने बताएका थिए । अर्जेन्टिनामा म्याराडोनालाई देउताकै रूपमा पूजा गरिन्छ । म्यारा र डोनासँग आ–आफ्नो नाम लेखिएको अलग्गै अर्जेन्टिनी जर्सी पनि छ ।

म्यारा आफ्नो बहिनीभन्दा एक मिनेटले जेठी छन् । उनी आफ्नो नामलाई खुबै मन पराउँछिन् । ‘मलाई लाग्छ, म्यारा निकै राम्रो नाम हो,’ उनी भन्छिन् । डोना भने म्याराडोनाको निधनले स्तब्ध छिन् । उनी भन्छिन्, ‘उनी (म्याराडोना) मरिसके भन्ने समाचार नै मलाई विश्वास लाग्दैन । उनी निकै भलाद्मी थिए ।’ कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस