पाँच नम्बर वडा कार्यालय भवनको शिलान्यास, तीनतले बनाइँदै

सफल खबर संवाददाता

सोमबार, १५ मंसिर २०७७, १२ : ११
पाँच नम्बर वडा कार्यालय भवनको शिलान्यास, तीनतले बनाइँदै

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ५ को वडा कार्यालय भवन शिलान्यास भएको छ । सोमबार महानगरपालिकाको वडा नम्बर ५ स्थित नारायणपुरमा तीनतले कार्यालय भवनको शिलान्यास भएको हो ।

भवनको शिलान्यास गर्दै महानगर प्रमुख रेनु दाहालले वडा कार्यालय भवन गुणस्तरीय ढंगले समयमै निर्माण सम्पन्न गर्न निर्माण ब्यावसायीलाई आग्रह गर्दै महानगरका प्राविधिकहरुलाई भवन निर्माणको गुणस्तरलाई कडाइका साथ नियमन र अनुगमन गर्न निर्देशन दिइन् ।

प्रमुख दाहालले महानगरका गौरवका आयोजनाहरु गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सिटी हल, हुलाकी मार्गको स्तरोन्नति, रिङरोड, लिङ्करोड लगायतका काम धमाधम अगाडि बढिरहेको बताउँदै वडा कार्यालयहरु वडावासीकै आवश्यकता र सुझावका आधारमा निर्माण सुरु गरिएको जानकारी दिइन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले भरतपुर महानगरपालिकाले ब्यवस्थित र सुविधासम्पन्न कार्यालयहरुबाट मात्रै नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ भन्ने मान्यताका साथ वडा कार्यालय निर्माणलाई तिव्रता दिएको बताए । उनले महानगरका अधिकांश वडा कार्यालयहरु निर्माण सम्पन्नको चरणमा रहेको भन्दै यो वडा कार्यालय पनि समयमै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष तथा प्रवक्ता अरूणपीडित भण्डारी, वडा नम्बर ६ का अध्यक्ष हरिविलास कोइराला र वडा नम्बर ४ का अध्यक्ष हरि आचार्यले समयमै भवन निर्माण गरी नयाँ भवनबाट सेवा शुभारम्भ गर्न शुभकामना दिएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका वडा अध्यक्ष हरिशरण पौडेलले अव्यवस्थित रुपमा संचालन भएको वडा कार्यालयलाई ब्यवस्थित भवन बनाएर वडावासीलाई सेवा पु¥याउने विश्वास ब्यक्त गर्दै समयमै निर्माण सम्पन्न गरेर भाडाको घरमा संचालनमा रहेको वडा कार्यालयलाई सुविधासम्पन्न भवनमा सार्न निर्माण कार्यलाई गतिका साथ अगाडि बढाउन आग्रह गरे ।

नेपाली कांग्रेस वडा नम्बर ५ का बुथ सहसंयोजक युवराज भुसालले सुविधासम्पन्न वडा कार्यालय भवन बन्न लागेकोमा खुसी ब्यक्त गर्दै भवन समयमै सम्पन्न हुनुपर्ने बताए । नेपाली कांग्रेस वडा पार्टीले यस स्थानमा वडा कार्यालयमा निर्माण गर्ने बिषयमा कुनै संस्थागत विरोध नरहेको भन्दै तोकिएकै समयमा भवन निर्माण हुनुपर्ने बताए । 

नेपाली कांग्रेसका वडा सदस्य दामोदर सुवेदीले लामो छलफलपछि वडा नम्बर ५ ले  उपयुक्त स्थानमा सुविधासम्पन्न वडा कार्यालय पाएको भन्दै तोकिएकै समयमा गुणस्तरमा कुनै सम्झौता नगरी अगाडि बढाउन आग्रह गरे ।

एक करोड ८७ लाखको लागतमा निर्माण हुन लागेको अन्डरग्राउन्ड पार्किङसहित ३ तलासम्म निर्माण हुने वडा कार्यालय भवनमा १० वटा कोठा रहने छन् । एक बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी कस्मिक कन्स्ट्रक्सनले जिम्मा लिएको छ । भरतपुर महानगरपालिकाले विद्यालय, वडा कार्यालय र स्वास्थ्य भवन गरी बितेको ३ बर्षमा १ सय ६६ वटा भवनहरु निर्माण गरेको छ ।

कार्यक्रम वडा नम्बर ५ का अध्यक्ष पदमपाणी सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष सुवेदीले वडावासीहरुको सामुहिक प्रयासमा अत्याधुनिक वडा कार्यालयको शिलान्यास गर्न सफल भएको बताउँदै तोकिएको समय सीमाभित्र गुणस्तरीय भवन निर्माण गर्न आफू लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस