कोरोना नियन्त्रणमा जनप्रतिनिधिले आफ्नो भूमिका देखाउनुस् : अध्यक्ष तिमिल्सिना

सफल खबर संवाददाता

आइतबार, १४ मंसिर २०७७, १३ : ५१
कोरोना नियन्त्रणमा जनप्रतिनिधिले आफ्नो भूमिका देखाउनुस् : अध्यक्ष तिमिल्सिना

विराटनगर । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि सक्रिय भएर आफ्नो भूमिका देखाउन सांसदहरुलाई आग्रह गरेका छन् ।

विराटनगरमा आइतबार प्रदेश नं १ का मुख्यमन्त्रीसहित सांसदहरु सहभागी 'कोभिड-१९ जस्तो महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले कोरोनाको मेडिकल उपचार निश्चित नभएकाले यसको नियन्त्रणका लागि स्वास्थ्यकर्मीसँगै जनचेतना फैलाउने कुरामा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताए ।  

‘कोरोना सुरु हुँदा सरकारले गरेको लकडाउन पालना गराउन हामीले आफ्ना जनतालाई घरमै बस्न आग्रह गर्‍यौं,’ उनले भने, ‘संक्रमण फैलिएको मुलुकबाट विद्यार्थी ल्याउँदा जनता के हुने हो भनेर आतंकित भइरहेको अवस्था थियो । अहिले संक्रमण लाखौंमा पुगिसकेको छ । यो अवस्थामा हामी आतंकित नभई सचेत हुन जरुरी छ ।'

अध्यक्ष तिमिल्सिनाले कोरोना नियन्त्रण प्रभावकारी बनाउन जनप्रतिनिधि अगाडि सरेको मुलुकले सफलता प्राप्त गरेको अनुभव रहेको जानकारी गराउँदै नेपालमा पनि सांसद, स्थानीय तहका प्रतिनिधि र राजनीतिक दलका संगठनहरु जनतामा पुग्नुपर्ने धारणा राखे ।

‘यो महामारी अहिले मानव जातीको चुनौती हो । यसकाविरुद्ध सबै एक भएर लड्नुपर्छ, उनले भने, 'समाजमा अफ्ट्यारो परेको बेला आफ्नो भूमिका देखाउन जनप्रतिनिध, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्रलगायत सबैलाई यो एउटा अवसर पनि हो ।'

कोरोना महामारीको हालसम्म कुनै उपचार नभएकाले यसको नियन्त्रणका लागि सबै नागरिक स्वास्थ्य अनुशासनमा बस्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताए ।

कार्यक्रमको अवसरमा अध्यक्ष तिमिल्सिनाले अहिले विश्वव्यापी महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको बताउँदै प्रत्येक तीनमध्ये एकजना महिला कुनै न कुनै किसिमको लैंगिक हिंसामा परेको अन्तर्राष्ट्रिय तथ्यांक गम्भीर भएको जानकारी गराए ।

'महिलाहरू मानसिक यातना, शारिरिक, आर्थिक तथा यौनीकलगायत विभिन्न हिंसामा पर्ने गरेका छन्,' उनले भने, 'विभिन्न किसिमका हिंसामा परेका मध्ये १० प्रतिशतले मात्रै न्यायका लागि सम्बन्धित निकायमा उजुरी गर्ने गरेका छन् । यसलाई कसरी अन्त्य गर्ने भन्ने विषयमा लाग्नुपर्छ ।'

उनले विभिन्न क्षेत्रमा पछाडी परेको नेपाल लैंगिक हिंसाको अन्त्य गर्ने कुरामा अगाडि आउनुपर्ने भन्दै त्यसका लागि सबै सरोकारवाला निकाय लाग्नुपर्ने धारणा राखे ।   

अन्तर्क्रिया कार्यक्रममा बोल्दै  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार कोरोना नियन्त्रणका लागि दिनरात काम गरिरहेको बताए । उनले सांसदहरूले सरकारले गरेका राम्रा कामहरूको सञ्चार गर्न तथा स्वास्थ्य सचेतना जनतामा फैलाउन आग्रह गरे ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका स्वास्थ्य विज्ञ डाक्टर विनोदप्रसाद गुप्ताले कोभिड-१९ पछाडिको विज्ञान बारे सांसदहरू बीच प्रस्तुतिकरण गरेका छन् ।

त्यसैगरी स्वास्थ्य संगठनका रणनीतिक, जोखिम तथा संकट सञ्चार विज्ञ डा. सुनुर वर्माले कोभिड जोखिम सञ्चार तथा समुदायको संलग्नताको महत्व र कोभिड सम्बन्धि अफवहा तथा गलत सूचनाको प्रतिकारमा निर्वाचित प्रतिनिधिको भूमिका बारे प्रस्तुतिकरण दिएका छन् ।

स्वास्थय संगठनका विज्ञहरूले सरकारले बिरामीको परिक्षण, आइसोलेसन व्यवस्थापन, उपचार तथा सम्पर्कमा आएका व्यक्तिहरुको खोजतलास, क्वारेन्टाइनको व्यवस्थापन गर्न र जनतालाई सूचित गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस